राहदानी छिटो बनाइदिने भन्दै ठगी गर्ने आठ जना बिचौलिया पक्राउ

राहदानी छिटो बनाइदिने भन्दै ठगी गर्ने आठ जना बिचौलिया पक्राउ

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाट प्रहरीले बिचौलियाको काम गर्ने आठ जनालाई पक्राउ गरेको छ।

राहदानी (पासपोर्ट) छिटो बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने गरेको आरोपमा उनीहरूलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई विभागको मूल गेट बाहिरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूले सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने र विभागका कर्मचारीको कामकारबाहीमा समेत अवरोध पुर्याउने गरेका थिए।

पक्राउ पर्नेहरूमा २६ वर्षीय सञ्जय आङ्देम्बे, ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, २५ वर्षीय प्रेमबहादुर लामा, २९ वर्षीय टेकबहादुर सुनार, ३० वर्षीय साजन श्रेष्ठ, ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ, ३८ वर्षीय जीवन लामा र १८ वर्षीय किशोर रहेका छन्।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

मंसिर ३, २०८२ बुधबार १२:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।