लोकेशको त्यो ‘सेलिब्रेसन’, अर्धशतकको खुसी भर्खरै जन्मिएकी बहिनीलाई समर्पण
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत हिजो भएको खेलमा विराटनगर किंग्सका लोकेश बमको ब्याटिङ जति विष्फोटक थियो भने सेलिब्रेसन उति नै कौतुहलपूर्ण थियो।
पोखरा एभेन्जर्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै ३७ बलमै अर्धशतक पूरा गरेपछि लोकेशले ब्याट र हेल्मेट फुकाले। त्यसपछि उनले दुवै हातलाई जोडेर काखमा बच्चा खेलाइरहेको अभिनय गरे र लगत्तै मुटुको आकार बनाएर खुसी साटे।
दर्शक र कमेन्टेटरले समेत चासोका साथ हेरेको यो सेलिब्रेसनको रहस्य लोकेशले खेलपछि खुलाएका छन्।
‘प्लेयर अफ दी म्याच’ घोषित भएपछि प्रतिक्रिया दिँदै लोकेशले यो सेलिब्रेसन आफ्नो परिवारमा भर्खरै थपिएकी नयाँ सदस्यका लागि भएको बताए।
‘मेरो काका-काकीको भर्खरै पहिलो सन्तान छोरीको जन्म भएको छ। उनी जन्मेको करिब एक हप्ता मात्र भयो,’ लोकेशले भने, ‘मैले आजको यो इनिङ र त्यो सेलिब्रेसन मेरी तिनै सानी बहिनीका लागि समर्पित गरेको हुँ।’
लोकेशका लागि हिजोको दिन अर्को कारणले पनि विशेष बन्यो। उनको यो शानदार इनिङ हेर्न उनका बुवा र बहिनी पनि रङ्गशालामै उपस्थित थिए।
‘म निकै खुसी छु। मेरा बुवा र बहिनी मेरो ब्याटिङ हेर्न आउनुभएको थियो। उहाँहरूकै अगाडि यस्तो प्रदर्शन गर्न पाउँदा र टोलीलाई जिताउन पाउँदा मलाई गर्व लागेको छ’, उनले भने।
लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको मद्दतले ७२ रनको विष्फोटक इनिङ खेले। उनको यही प्रदर्शन र मार्टिन गप्टिलसँगको १३२ रनको साझेदारीको बलमा विराटनगरले २२० रनको विशाल योगफल खडा गर्यो।
जवाफमा पोखरा १६७ रनमा समेटिएपछि विराटनगरले ५३ रनको शानदार जित हात पार्यो।
मंसिर ३, २०८२ बुधबार ११:५६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।