पितृमोक्षको कामना गर्दै पाशुपत क्षेत्रमा शतबीज छरियो

पितृमोक्षको कामना गर्दै पाशुपत क्षेत्रमा शतबीज छरियो

काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीका अवसरमा आज बिहानैदेखि पाशुपत क्षेत्रमा शतबीज छरिएको छ।

दिवङ्गत पितृहरूको मोक्षको कामना गर्दै भक्तजनहरूले पाशुपत क्षेत्रको मृगस्थली लगायतका स्थानमा विधिपूर्वक शतबीज छरेका हुन्।

हिजो (त्रयोदशी) राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेका भक्तजनले आज बिहानै मृगस्थलीमा शतबीज छरेका हुन्।

धार्मिक ग्रन्थ ‘चर्तुवर्ग-चिन्तामणि’ अनुसार धानका सय दाना छर्ने शास्त्रीय विधि भए पनि भक्तजनले धानसहित मकै, गहुँ, हलेदो, जौ, कागुनो लगायतका अन्न शतबीजका रूपमा छर्ने गर्दछन्। शतबीज छरेपछि अन्न खाने परम्परा रहेको छ।

शतबीज छर्नका लागि पशुपति क्षेत्रको मृगस्थली, विश्वरूप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेश लगायतका स्थानमा भक्तजनको बाक्लो घुइँचो छ। आजको दिन पाशुपत क्षेत्र पुग्नेहरूले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने प्रचलन रहेको छ।

पशुपतिनाथ मन्दिर परिसरका अलावा काठमाडौं उपत्यकाका अन्य शिवालयहरूमा पनि शतबीज छरिएको छ। गोकर्णेश्वर, भक्तपुरको डोलेश्वर तथा वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रको मक्खन महादेवस्थानमा पनि उल्लेख्य सङ्ख्यामा भक्तजनले शतबीज छरेका छन्।

मंसिर ३, २०८२ बुधबार ११:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।