ब्रेस्ट इम्प्लान्ट हटाएपछि मोडेल शर्लिन चोपडाले भनिन्- ‘हलुका महसुस गर्दैछु’
एजेन्सी: भारतीय मोडेल तथा अभिनेत्री शर्लिन चोपडाले आफ्नो ‘ब्रेस्ट इम्प्लान्ट’ (स्तनको आकार बढाउन गरिने शल्यक्रिया) हटाएकी छन्। आइतबार राति इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले यो जानकारी दिएकी हुन्।
शर्लिनले भनिन्, ‘मेरो छातीबाट भारी बोझ हटेको छ। एउटा इम्प्लान्टको तौल ८२५ ग्राम थियो। अहिले म पुतली जस्तै हलुका महसुस गरिरहेकी छु।’
भिडियोमा ३८ वर्षीया अभिनेत्रीले युवा पुस्तालाई अपिल गर्दै सामाजिक सञ्जालको बहकाउमा नलाग्न र समाजको दबाबमा आएर आफ्नो शरीरसँग खेलवाड नगर्न सुझाव दिएकी छन्।
उनले भनिन्, ‘म युवा पुस्तालाई अनुरोध गर्छु कि सामाजिक सञ्जालको भ्रममा परेर आफ्नो प्राकृतिक शारीरिक बनावटसँग नखेल्नुहोस्।’
यसअघि अर्को एक पोस्टमा उनले आफू बिना कुनै अतिरिक्त बोझ जीवन जिउन चाहेकाले इम्प्लान्ट हटाउन लागेको बताएकी थिइन्। उनको यो निर्णयलाई सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन्। शर्लिन सन् २००७ देखि हिन्दी र तेलुगु फिल्ममा सक्रिय छिन्।
के हो ब्रेस्ट इम्प्लान्ट?
ब्रेस्ट इम्प्लान्ट एक कस्मेटिक शल्यक्रिया हो, जसमा स्तनको आकार बढाउन वा परिवर्तन गर्न कृत्रिम वस्तु राखिन्छ। आजकल प्रायः सिलिकनबाट बनेका इम्प्लान्ट प्रयोग गरिन्छ, जुन गोलाकार हुन्छन् र स्तनको मुनि सानो चिरा लगाएर राखिन्छ।
लुधियानाका प्लास्टिक सर्जन डा. विकास गुप्ताका अनुसार, पहिले ‘सेलाइन वाटर’ इम्प्लान्ट प्रयोग हुन्थ्यो तर फुट्ने जोखिमका कारण अहिले बन्द गरिएको छ। अहिले प्रयोग हुने सिलिकन इम्प्लान्ट सुरक्षित मानिन्छन् र बाहिरबाट हेर्दा पत्ता लगाउन गाह्रो हुन्छ।
क्रिश्चियन मेडिकल कलेज, लुधियानाकी प्लास्टिक सर्जरी विभाग प्रमुख डा. पिङ्की परगालका अनुसार सामाजिक सञ्जालको प्रभावले पछिल्लो दशकमा ब्रेस्ट इम्प्लान्टको चलन बढेको छ। भारतमा यसको लागत ५० हजारदेखि १ लाख ५० हजार भारुसम्म पर्न सक्छ।
शर्लिनले आफ्नो एउटा इम्प्लान्ट ८२५ ग्रामको भएको बताए पनि विशेषज्ञहरू भारतीय महिलाको शारीरिक बनावटका लागि ३५० देखि ४०० मिलिमिटर (ग्राम सरह) भन्दा ठूलो इम्प्लान्ट सिफारिस गर्दैनन्।
डा. गुप्ताका अनुसार ब्रेस्ट इम्प्लान्टले क्यान्सरको जोखिम बढाउँदैन र यसले बच्चालाई दूध खुवाउन (स्तनपान गराउन) पनि कुनै समस्या पार्दैन। यद्यपि, अन्य शल्यक्रिया जस्तै यसमा पनि संक्रमणको सामान्य जोखिम भने रहन्छ।
डा. पिङ्कीका अनुसार जो महिलाहरूको स्तन प्राकृतिक रूपमा विकास भएको हुँदैन, उनीहरूका लागि यो प्रभावकारी हुन्छ, तर केवल देखासिकीका लागि यो गर्न नहुने उनको सुझाव छ।
मंसिर ३, २०८२ बुधबार ११:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।