नेपाल एयरलाइन्सको जहाज अब भारत ‘डाइभर्ट’ हुनु नपर्ने, भैरहवालाई बनायो वैकल्पिक विमानस्थल
काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्ना जहाजहरू काठमाडौंमा अवतरण हुन नसक्दा भारतका विमानस्थलमा ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता अन्त्य गरेको छ।
निगमले अबदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो। निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार यो निर्णय मङ्सिर ३ गतेदेखि लागू हुनेछ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको खराबी वा ट्राफिक जामका कारण जहाज अवतरण हुन नसक्दा पाइलटहरूले जहाजलाई भारतका विभिन्न विमानस्थलमा डाइभर्ट गर्दै आएका थिए।
निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ।’
निगमले आफ्नै देशको विमानस्थललाई वैकल्पिक रूपमा प्रयोग गर्दा इन्धन र अन्य शुल्कमा हुने ठूलो खर्च कटौती हुने विश्वास लिएको छ। साथै, भारत पुगेर फर्किंदा लाग्ने समयको पनि बचत हुनेछ।
निगमले भैरहवा मात्र नभई पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिनेबारे प्रक्रिया अघि बढाएको छ।
विज्ञप्तिमा पोखरालाई समेत ‘अल्टरनेटिभ एयरपोर्ट’ बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय भएको उल्लेख छ।
मंसिर ३, २०८२ बुधबार १०:५०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।