क्यासिनोमाथि सरकारको कडाइ : अनलाइन जुवामा प्रतिबन्धदेखि ६ महिनाको फुटेज राख्नुपर्नेसम्मका निर्देशन

क्यासिनोमाथि सरकारको कडाइ : अनलाइन जुवामा प्रतिबन्धदेखि ६ महिनाको फुटेज राख्नुपर्नेसम्मका निर्देशन

काठमाडौं : सरकारले क्यासिनो व्यवसायलाई थप व्यवस्थित गर्दै कानुनी दायरामा ल्याउन १२ बुँदे निर्देशन जारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐनको पूर्ण पालना गराउन क्यासिनोहरूलाई सचेत गराएको हो।

विभागको निर्देशनअनुसार अब क्यासिनोहरूले खेलाडीको बायोमेट्रिकसहितको पहिचान (केवाइसी) अद्यावधिक गर्नुपर्ने, क्यासिनो हलभित्रका गतिविधिसहितको सिसिटिभी फुटेज कम्तीमा छ महिना सुरक्षित राख्नुपर्ने र इन्टरनेटमा आधारित अनलाइन जुवा खेलाउन नपाइने भएको छ।

साथै, राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गर्न रोक लगाउँदै विभागले खेलाडीले जितेको रकम भुक्तानी गर्दा अग्रिम रूपमा आकस्मिक लाभकर कट्टी गरेर मात्र दिन र सोको विवरण राजस्व कार्यालयमा पठाउन निर्देशन दिएको छ।

इजाजत लिएको स्थानबाहेक अन्यत्र वा तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको यो निर्देशन पालना नभए नेपाललाई वित्तीय कारबाही कार्यदलको ‘ग्रे लिस्ट’बाट जोगाउने कार्ययोजना बमोजिम कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ।

मंसिर ३, २०८२ बुधबार ०९:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।