पहिलो खेल गुमाए पनि चर्चामा पोखराका क्याप्टेन कुशल
काठमाडौं : कप्तान कुशल भुर्तेलले ३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए पनि विराटनगरलाई माथ दिन यो स्कोर पर्याप्त भएन।एनपिएलको दोस्रो दिनको दोस्रो खेलमा विराटनगरले लक्ष्य नै कठिन २२१ को दिएको थियो।
पोखराले पहिलो पावर प्लेमा १ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। एनपिएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन थियो। विराटनगरले जारी एनपिएलमा दिएको लक्ष्य पनि सर्वाधिक थियो।
पाएको कठिन लक्ष्य पच्छ्याउँदै पोखराले १० ओभरसम्ममा राम्रै स्कोर बनाइरहेको थियो।
आठौँ ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले २ महत्त्वपूर्ण विकेट लिएपछि खेलको गति बदलियो। पोखरा दबाबमा आयो। खेल धानिरहेका भुर्तेल सातौँ विकेटको रूपमा बाहिरिएपछि धरमराएको पोखराको गति सम्हालिएन।
२२१ को लक्ष्य पछ्याएको पोखराले सबै ओभर पनि खेल्न पाएन। १८.५ ओभरमा १६७ रन बनाएर सबै विकेट गुमाएर ५३ रनले पराजित भयो।
गत वर्षको एनपिएलको खेलको तुलनामा मङ्गलवारको खेलमा पोखरा बलियो देखियो। भुर्तेल फर्ममा देखिए। तर बलिङ र फिल्डिङमा भने कमजोरी देखियो। दुई महत्वपुर्ण क्याच गुमाउनु नै दुर्भाग्य भयो।
फर्ममा रहेका सन्दीप लामिछानेले महत्वपुर्ण दुई ब्याट्सम्यानलाई शून्य रनमा आउट गर्नु नै खेलको टर्निङ पोइन्ट बन्यो। जेम्स निसम र त्रित दासको विकेट पोखरालाई निकै महँगो बन्यो।
भुर्तेलको छक्काको चर्चा
पहिलो खेल गुमाए पनि पोखराका कप्तान भुर्तेल भने चर्चामा रहे। पहिलो चर्चाको विषय त उनले बनाएको स्कोर नै भयो।दोस्रो|उनको छक्का।
चार छक्का हानेका भुर्तेलको एक छक्का मैदानबाट बाहिरिएर कमेन्ट्री बक्स भित्र पुग्यो। कमेन्ट्री बक्सको सिसा नै फुटाएको विषय सञ्जालमा चर्चाको विषय बन्यो। पहिलो पावर प्लेमा बनेको स्कोरको रेकर्डले पनि चर्चा बढायो।
एनपिएल-२को दोस्रो दिनको पहिलो खेल चितवनले|जित्यो। कर्णाली याक्स चार विकेटले पराजित भयो। पहिलो पावर प्लेमा गतिलो सुरुवात नगरे पनि चितवनलाई कर्णाली एक्सले दिएको १ सय ६७ रनको लक्ष्य १९.१ मा ६ विकेट गुमाएर पुरा गर्यो।
मंसिर ३, २०८२ बुधबार ०१:५५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।