कार्की सरकारसँग पनि बन्चरेडाँडाका स्थानीय असन्तुष्ट, भोलीदेखि फोहोर फाल्न नदिने
काठमाडौं : बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित स्थानीयले वर्तमान सरकारले पनि आफ्ना माग पुरा नगरी धोका दिएको भन्दै भोली (बुधबार) देखि फोहोर फाल्न नदिने घोषणा गरेका छन्। स्थानीयले मंगलबार फोहोर ल्याउने काठमाडौं महानगरपालिकाका गाडीलाई बुधबार देखि त्यहाँ प्रवेशमा रोक लगाउने जानकारी दिएका हुन्।
यसअघि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटमै पुगेर १५ दिनभित्र स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको थियो।
तर, प्रतिबद्धता जनाएको १५ दिनको म्याद सकिएपछि पनि सरकारले कुनै चासो नदेखाएको स्थानीय अमृत तामाङको गुनासो छ। धुनिबेशी नगरपालिका, ककनी गाउँपालिकाका स्थानीयले भोली देखि जबरजस्ती फोहोर फाल्न महानगरको गाडी आए बल प्रयोग गरेर भए पनि रोक्ने चेतावनी दिए।

पछिल्लो पटक गत १२ कात्तिकमा स्थानीयले माग पुरा नगरेको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका थिए। फोहोर व्यवस्थापन हुन नसकेपछि काठमाडौं महानगरले सूचना जारी गर्दै फोहोर आफ्नो घरमै राख्न भनेको थियो। महानगरका जनप्रतिनिधि प्रभावित क्षेत्रमा नपुगे पनि मन्त्री घिसिङ आफै त्यहाँ पुगेर अवरोध हटाएका थिए।
तामाङका अनुसार उनका अनुसार स्थानीय र सरकारबीच फोहोर व्यवस्थापनको सम्बन्धमा अहिलेसम्म सय पटकभन्दा बढी वार्ता भइसक्यो। तर सरकारले कुनै पनि माग पुरा गरेको छैन। बन्चरेडाँडा क्षेत्रका स्थानीयले २०७९ सालमा भएको १८ बुँदे सम्झौता काठमाडौं महानगरपालिकाले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। त्यसपछि प्रधानमन्त्रीसँग पनि स्थानीयको चार बुँदे सम्झौता भएको थियो। त्यो पनि पुरा भएको छैन।

मंसिर २, २०८२ मंगलबार २२:२७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।