१५-२० रन बढी दियौँ, सन्दीपको ओभरपछि दबाब बढ्यो : कप्तान भुर्तेल

१५-२० रन बढी दियौँ, सन्दीपको ओभरपछि दबाब बढ्यो : कप्तान भुर्तेल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर सुपर किंग्ससँग ६३ रनको हार बेहोरेपछि पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले बलिङमा १५ देखि २० रन बढी दिएका कारण टोली पराजित हुन पुगेको बताएका छन्।

मंगलबार साँझ सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान भुर्तेलले पहिलो खेलको दबाब र घरेलु दर्शकको उपस्थितिका कारण युवा खेलाडीहरू केही नर्भस भएको हुनसक्ने स्वीकार गरे।

‘हाम्रा युवा खेलाडीहरू पहिलो खेल र दर्शकका कारण केही नर्भस भए जस्तो लाग्यो,’ उनले भने, हामीले १५-२० रन बढी दियौँ। नत्र १९०-२०० को लक्ष्य यो विकेटमा पछ्याउन सकिन्थ्यो।’

विराटनगरले प्रस्तुत गरेको २१५ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदा पोखराको योजनाबारे सोधिएको प्रश्नमा उनले आफ्नो र एडम होजको साझेदारीले राम्रो सुरुवात दिलाएको बताए।

‘सुरुवात राम्रो भएको थियो। हामीलाई थाहा थियो यो मैदानमा रन बन्छ,’ भुर्तेलले भने, ‘तर एडम आउट भएपछि अर्को एउटा राम्रो साझेदारी हुन सकेन। त्यो भएको भए खेल अझै प्रतिस्पर्धात्मक हुन्थ्यो।’

खेलको महत्वपूर्ण क्षण विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा पृथु बास्कोटा र जेम्स नीशमको विकेट लिनु रहेको उनले स्वीकार गरे।

‘सन्दीप नेपालका उत्कृष्ट स्पिनर हुन्। उनले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि हामी दबाबमा आयौं’, उनले भने।

आफ्नो अर्धशतकीय पारीका बाबजुद टोलीलाई जिताउन नसकेकोमा उनले निराशा व्यक्त गरे।

भुर्तेलले भने, ‘यदि म १९-२० ओभरसम्म टिकेको भए खेल जिताउँछु भन्नेमा विश्वस्त थिएँ।’

टोलीका अन्य खेलाडीको बारेमा बोल्दै उनले रिचार्ड लेभी अर्को खेलपछि टोलीमा सामेल हुने र जेम्स नीशमले आईएलटी-२० का लागि जानुअघि ४-५ खेल खेल्ने जानकारी दिए।

यो हार प्रतियोगिताको सुरुवात मात्र भएको र टोलीले पुनरागमन गर्नेमा उनी विश्वस्त छन्।

‘यो लामो प्रतियोगिता हो, हामी पुनरागमन गर्छौं। अर्को खेलमा कहाँ कमजोरी भयो भनेर छलफल गरेर सुधार गर्नेछौँ’, उनले थपे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल्दाको अनुभवबारे उनले सबै खेलाडी र दर्शक उत्साहित रहेको बताए।

‘राति ब्याटिङ गर्दा शीत (ड्यू)का कारण सजिलो हुन्छ। पिच ब्याटिङका लागि राम्रो छ’, उनले पिचबारे आफ्नो धारणा राखे।

मंसिर २, २०८२ मंगलबार २०:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।