एनपीएलमा जुवाको विज्ञापन गरेपछि बोर्डले भन्यो- ‘क्यानलाई स्पष्टीकरण सोध्छौँ’
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन देखिएपछि विज्ञापन बोर्डले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
बोर्डले प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ (क्यान) लाई यसबारे स्पष्टीकरण सोध्न पत्र पठाउने तयारी गरेको छ। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले एनपीएलको मैदानमा ‘डाफान्युज’को नाममा जुवा खेलाउने कम्पनीको विज्ञापन भएको पाइएको पुष्टि गरे।
उनले भने, ‘हामीले अनुगमन गर्यौँ। मैदानमा डाफान्युजको नाममा जुवा खेलाउने कम्पनीको विज्ञापन भएको देखियो। यो गलत हो। यसबारे हामी क्यानलाई स्पष्टीकरणका लागि पत्र पठाउँछौँ।’
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेको एनपीएलको दोस्रो संस्करणमा मैदानको हरेक कुनामा ‘डाफान्युज’ नामक ब्रान्डको विज्ञापन राखिएको थियो। मुख्य डिस्प्ले, दर्शकदीर्घा र बाउन्ड्री लाइनमा समेत ठाउँ-ठाउँमा देखिन्थ्यो। एनपीएलले डाफान्युजलाई आफ्नो ‘अफिसियल मिडिया पार्टनर’ घोषणा गरेको छ।
तर, रोचक पक्ष के छ भने डाफान्युजले आफ्नो वेबसाइटमा एनपीएल-२ बारे एउटै समाचार पनि प्रकाशित गरेको छैन। समाचार पोर्टलको आवरणमा प्रस्तुत भए पनि यसको वेबसाइटमा समाचारभन्दा बढी अन्तर्राष्ट्रिय जुवा कम्पनी ‘डाफाबेट’ का प्रचार, लिंक र प्रमोशनल सामग्रीहरू भेटिन्छन्।
यसले डाफान्युज कुनै स्वतन्त्र सञ्चारमाध्यम नभई डाफाबेटको ‘सरोगेट ब्रान्ड’ हो भन्ने स्पष्ट पार्छ, जसको उद्देश्य समाचारको नाममा नेपालमा आफ्नो जुवाको बजार विस्तार गर्नु हो।
नेपालको कानुनले कुनै पनि प्रकारको जुवा खेलाउन र त्यसको प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ। यही कानुनी अड्चन छल्न डाफाबेटले ‘न्युज’ शब्द जोडेर डाफान्युजको नाममा नेपाल प्रवेश गरेको हो।
डाफान्युज र डाफाबेटको नाम, लोगो, रङ र फन्ट डिजाइनसमेत उस्तै छ, जुन विश्वभर जुवा कम्पनीहरूले प्रतिबन्धित बजारमा प्रयोग गर्ने सरोगेट मार्केटिङको चिनारी हो।
यसअघि पनि ‘वानएक्सबेट’ ले ‘वानएक्सन्युज’ र एनपीएलकै पहिलो संस्करणमा ‘वुल्फ७७७’ ले ‘वुल्फ७७७न्युज’ को नाममा यस्तै प्रचार गरेका थिए।
त्यतिबेला विज्ञापन बोर्डले वुल्फ७७७न्युजको विज्ञापनलाई गैरकानुनी ठहर गर्दै विज्ञापन ल्याउने कम्पनीलाई कारबाहीसमेत गरेको थियो। बोर्डले डाफान्युजको प्रचार नगर्न सार्वजनिक सूचना जारी गर्दागर्दै पनि क्यानले त्यसलाई बेवास्ता गरेको देखिन्छ।
खेल मैदानमा यस्ता सरोगेट विज्ञापनले क्रिकेटको निष्पक्षतामाथि गम्भीर खतरा निम्त्याउँछ। खेल हेर्ने अधिकांश युवा दर्शकलाई लक्षित गरी गरिने यस्ता प्रचारले उनीहरूलाई जुवाको लतमा फसाउन सक्छ।
जब कुनै खेलमा अनियन्त्रित जुवा बजारको प्रवेश हुन्छ, त्यहाँ म्याचफिक्सिङ र स्पट-फिक्सिङको जोखिम ह्वात्तै बढ्छ। खेलाडी, प्रशिक्षक र अम्पायरलाई समेत प्रलोभनमा पारेर खेलको नतिजा आफ्नो पक्षमा पार्ने प्रयास हुन सक्छ।
नेपालमै भएको अघिल्लो टी-२० लिगमा बेटिङ र फिक्सिङको प्रयास भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान गरेको थियो।
एनपीएलबारे उकेराको श्रृंखला:
मंसिर २, २०८२ मंगलबार १३:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।