शतकबाट चुके प्रियाङ्क पन्चल, कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले ओपनर प्रियाङ्क पन्चलको विष्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनायो।
कर्णालीका लागि भारतीय ब्याटर प्रियाङ्क पन्चलले उत्कृष्ट प्रदर्शन गरे। मात्र ४८ बल सामना गरेका उनले ७ चौका र ६ छक्कासहित ९० रनको सानदार पारी खेले।
आक्रामक रूपमा प्रस्तुत भएका पन्चल शतक बनाउनबाट भने मात्र १० रनले चुके। उनलाई चितवनका रवि बोपाराले देव खनालको हातबाट क्याच आउट गराए।
पन्चलबाहेक अन्य ब्याटरले भने सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। अर्का ओपनर म्याक्स ओ'डाउडले ३० बलमा २० रन बनाए भने मार्क वाटले २१ बलमा १६ रन जोडे।
तर, अन्तिम ओभरमा आएका पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। उनले मात्र १६ बलमा १ चौका र ३ छक्कासहित अविजित २७ रन जोडे।
चितवनका लागि बलिङमा सैफ जैब, रवि बोपारा र सोहेल तनविरले एक-एक विकेट लिए। जैब सबैभन्दा किफायती बलर बने, उनले ३ ओभरमा मात्र १५ रन खर्चिए।
अनुभवी बलर बोपाराले ३ ओभरमा १८ रन दिए भने सोहेल तनविरले ४ ओभरमा २६ रन खर्चिए। यद्यपि, रिजन ढकाल भने महँगा साबित भए, उनले ३ ओभरमा ३६ रन दिए।
अब, चितवनले प्रतियोगितामा आफ्नो पहिलो जितका लागि १६७ रनको लक्ष्य पछ्याउनेछ।
मंसिर २, २०८२ मंगलबार १३:२९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।