क्यानबाट २५ लाख चन्दा लिने सम्झौताबारे बोले स्ववियु सभापति जोशी

क्यानबाट २५ लाख चन्दा लिने सम्झौताबारे बोले स्ववियु सभापति जोशी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग भएको सम्झौता ‘चन्दा’ नभई विश्वविद्यालय र विद्यार्थीको हितमा गरिएको एक संस्थागत सहयोग भएको दाबी गरेका छन्।

एनपीएल आयोजना गर्न दिन विद्यार्थी संगठनले क्यानबाट २५ लाख रुपैयाँ चन्दा लिएको भनी समाचार प्रकाशित भएपछि मंगलबार फेसबुक लाइभमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त समाचारलाई भ्रामक र निन्दनीय भनेका छन्।

‘स्वतन्त्र विद्यार्थी युनियन कुनै व्यक्तिको नभई सम्पूर्ण विद्यार्थीको साझा र आधिकारिक संस्था हो,’ जोशीले भने, ‘यो रकम कुनै व्यक्तिको खातामा जाने होइन, विश्वविद्यालयको आधिकारिक निकायको कोषमा जम्मा हुने हो।’

सम्झौताअनुसार प्राप्त हुने रकम विश्वविद्यालय र विद्यार्थीहरूको बृहत्तर हितका लागि विभिन्न क्षेत्रमा खर्च गरिने जोशीले स्पष्ट पारेका छन्। उनका अनुसार, १५ लाख रुपैयाँ विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको कोषमा जम्मा हुनेछ।

यसका अलावा १० लाख रुपैयाँ स्ववियुको साझा कोषमा जम्मा हुने नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेतासमेत रहेका जोशीको दाबी छ।

जसबाट खेल मैदान वरपरको वातावरणीय संरक्षण, फोहोर व्यवस्थापन, छात्राबासको सुरक्षा (काँडेतार व्यवस्थापन), र विश्वविद्यालय परिसरमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि खर्च गरिने उनको दाबी छ।

यसका अलावा खेल अवधिभर विद्यार्थीहरूलाई उद्यमशीलतासँग जोड्न मैदान वरपर स्टल व्यवस्थापन गर्ने योजना समेत रहेको उनको भनाइ छ।

जोशीले उक्त सम्झौता कुनै विद्यार्थी नेताको दबाबमा नभई त्रिवि पदाधिकारी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू र क्यानका अधिकारीहरूसँगको संयुक्त छलफलपछि सबैको साझा धारणाका आधारमा भएको दाबी गरे।

उनले विश्वविद्यालय सुधारका लागि स्ववियुले शैक्षिक, प्रशासनिक, नीतिगत, र वातावरणीय मुद्दाहरूमा निरन्तर काम गरिरहेको बताउँदै सार्वजनिक शिक्षालाई दुरुत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

उनले भने, ‘हामी विश्वविद्यालय सुधारको अभियानमा छौँ, यसमा सबैले सकारात्मक भूमिका खेल्नुपर्छ।’

 

मंसिर २, २०८२ मंगलबार १२:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।