मतदाता नामावली प्रणाली पूर्ण सुरक्षित छ, भ्रममा नपर्नुस् : निर्वाचन आयोग
काठमाडौं : निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ।
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मतदाता नामावलीसम्बन्धी विवरण अनधिकृत रूपमा सार्वजनिक भएको भन्ने दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले ती सूचनामा सत्यता नभएको बताएको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ।’
आयोगले नागरिकको कानून बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको र सूचना प्रविधिसम्बन्धी विज्ञहरूले प्रणालीको निरन्तर अनुगमन तथा सुरक्षा जोखिम विश्लेषण गरिरहेको जनाएको छ।
सामाजिक सञ्जालमा आयोगको प्रणालीबाट ‘लिक’ भएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई कानूनी रूपमा उपलब्ध गराएका सामान्य सूचनाहरू भएको आयोगले प्रस्ट्याएको छ।
‘ती फाइलहरूमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन्’, विज्ञप्तिमा उल्लेख छ।
आयोगले यस सम्बन्धमा प्रकाशन र प्रसारण भइरहेका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचनामा विश्वास नगर्न सबै सरोकारवालाहरूमा अनुरोध गरेको छ।
आयोगले सूचना प्रणालीको सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको जानकारी दिँदै सर्वसाधारणलाई यस्ता हल्ला र भ्रमको पछि नलाग्न आग्रह गरेको छ।

मंसिर २, २०८२ मंगलबार १०:३६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।