एनपीएलमा आज दुई खेल : चितवन र कर्णाली तथा विराटनगर र पोखरा भिड्दै
काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्।
आज मैदान उत्रने चारवटै टोली प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछन्, त्यसैले सबै जितका साथ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।
बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवनले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णालीको सामना गर्नेछ।
त्यस्तै, दिउँसोको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले कुशल भुर्तेल नेतृत्वको पोखरासँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। जितसँगै काठमाडौंले अङ्क तालिकामा २ अङ्क जोडेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ।
मंसिर २, २०८२ मंगलबार ०७:१७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।