पारसले जुवा र रक्सीको विज्ञापन हटाउन नमानेपछि एनपिएलको उद्घाटनमा गएनन् खेलकुदमन्त्री बब्लु
काठमाडौं : एनपिएल-२ को उद्घाटनमा प्रधानमन्त्री सुशीला कार्की निकै प्रफुल्ल मुद्रामा सहभागी भइन्। टीयू क्रिकेट मैदानमा पहिलो पटक नयाँ संरचनामा हुन लागेको लिग उद्घाटनमा प्रधानमन्त्री कार्की देखिए पनि खेलकुदमन्त्री बब्लु गुप्ता भने देखिएनन्।
यति भव्य रूपमा सुरु भएको लिगमा खेलकुदमन्त्री नै अनुपस्थित हुनु आफैँमा अर्थपूर्ण हुने नै भयो। उकेराले मन्त्रीको सचिवालयसँग यसबारे जिज्ञासा राख्दा उनी काठमाडौं बाहिर भएकाले लिगको उद्घाटनमा सहभागी हुन नपाएको बताए। तर उकेराको खोजीमा बब्लु उपत्यका बाहिर गएको देखिएन। सुरक्षा संगठनको विवरणमा उनी सोमबार काठमाडौं उपत्यकाभित्रै रहेको खुल्यो।
काठमाडौं भित्र रहँदा पनि बब्लु किन लिगको उद्घाटनमा गएनन्? उकेराले बब्लु निकट केही स्रोतहरूसँग यसबारे जिज्ञासा राखेको थियो। स्रोतले बब्लु सोमबार काठमाडौं उपत्यका बाहिर नगएको स्वीकार गर्यो।
"उहाँ काठमाडौँ भित्रै हुनुहुन्छ। काठमाडौँमै रहेर पनि प्रधानमन्त्री जानुभएको कार्यक्रममा विभागीय मन्त्री नजाँदा अपमान गरे जस्तो हुने भएकाले काठमाडौँ बाहिर भएकाले उपस्थित हुन नसकेको सन्देश पठाइएको हो" मन्त्री बब्लु निकट स्रोतले उकेरालाई भन्यो।
जानकारस्रोतका अनुसार बब्लु एनपिएलको उद्घाटनमा सहभागी नहुनुको कारण हो जुवा र रक्सीको सरोगेट विज्ञापन। एनपिएलको मैदानमा नेपालको कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवा प्रवर्धन गर्नेगरि वानएक्सबेटको सरोगेट ब्रान्ड वानएक्सन्युजको विज्ञापन राखेको र गोल्डेन वक मदिराको प्रचारका लागि पानीको सरोगेट ब्रान्डसँग सम्झौता गरेकाले मन्त्री गुप्ता उद्घाटनमा नगएका स्रोतले बतायो।
"सचिवालयबाट समेत मैदानको अनुगमन भएको थियो। विज्ञापन बोर्डसँग बुझ्दा डाफान्युजको विज्ञापन गर्नु गैर कानुनी भएको र यसबारे बोर्डसँग अनुमति समेत नलिएको सूचना आएपछि मन्त्रीजी उद्घाटनमा सहभागी हुन राजी हुनु भएन," स्रोतले उकेरासँग भन्यो।
स्रोतका अनुसार मन्त्री बब्लुले क्यानका पदाधिकारी र सचिव पारससँग कानुनले प्रतिबन्ध लगाएको वस्तुको प्रचार नगर्न आग्रह गरेका थिए। खेलमा जुवाको प्रचार हुनु राम्रो हैन भन्दै उनले एनपिएलको मैदानमा डाफाबेटको सरोगेट ब्रान्ड डाफान्युजको विज्ञापन नराख्न भनेका थिए। तर पारस सहमत भएनन्। उनले उल्टो एनपिएल उद्घाटनको एक दिन अगाडि मदिराको विज्ञापन गर्न पानीको रूपमा सरोगेट विज्ञापन राख्न सम्झौता गरे। त्यसपछि बब्लु उद्घाटनमा गएनन्।
आइतबार ऊर्जा तथा भौतिक मन्त्री कुलमान घिसिङ टीयू क्रिकेट मैदानको नयाँ संरचनाको हस्तान्तरण कार्यक्रममा समेत सहभागी हुन तयार थिएनन्। यसको कारण पनि उही जुवाको सरोगेट विज्ञापन देखियो। घिसिङले क्यान पदाधिकारीसँग यसबारे चासो राखेका थिए। क्यान पदाधिकारीहरूले हस्तान्तरण कार्यक्रममा त्यस्तो कुनै विज्ञापन नदेखाउने भनेपछि उनी आइतबार मैदान गएर भौतिक संरचना हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए।
सोमबार प्रधानमन्त्री कार्कीको सचिवालयमा पनि एनपिएलको मैदानमा भइरहेको गैर कानुनी गतिविधिबारे जानकारी पुगेको थियो। तर सूचना आए पनि लिगको सबै तयारी सकिएको र उद्घाटनमा सहभागी नहुनु ठिक नहुने भन्दै प्रधानमन्त्री कार्की उद्घाटन गर्न राजी भएकी थिइन्।
मंसिर २, २०८२ मंगलबार ००:१०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।