यसपाली नेट रनरेटको स्थिति नै नआओस् भनेर खेल्छौँ : कप्तान केसी

यसपाली नेट रनरेटको स्थिति नै नआओस् भनेर खेल्छौँ : कप्तान केसी

काठमाडौं : काठमाडौं गोर्खाजका कप्तान करण केसीले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा घरेलु तथा विदेशी खेलाडीको सन्तुलित प्रदर्शनका कारण जित सम्भव भएको बताएका छन्।

साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेपछि उनले त्रिवि मैदानमा पहिलो डे-नाइट खेल जित्नुलाई ‘ऐतिहासिक क्षण’ को संज्ञा दिए।

‘यो उत्कृष्ट सुरुवात हो। टिमले जसरी पुनरागमन गर्यो, त्यो महत्वपूर्ण थियो,’ खेलपछि करणले भने, ‘स्थानीय र विदेशी खेलाडीको मिश्रित प्रयासले हामीले जित निकाल्यौँ।’

नेपाली दर्शकमाझ पहिलो पटक डे-नाइट म्याच खेल्दाको अनुभव अद्भुत रहेको उनले बताए।

‘नेपाली दर्शकको अगाडि फ्लडलाइटमा खेल्नु एक ऐतिहासिक क्षण हो। पहिलो खेलमै जित निकाल्दा निकै खुसी लागेको छ’, उनले भने।

पिचबारे बोल्दै उनले ब्याटिङ वा बलिङ केलाई सहयोग गर्छ भनेर अनुमान गर्न कठिन भएकाले टस जितेर बलिङ रोजेको बताए।

उनले भने, ‘सुरुमा स्पिनरलाई खासै सहयोग गर्दैन भन्ने लागेको थियो, तर विकेटमा भएको घाँसको फाइदा हाम्रा स्पिनरले राम्रोसँग उठाए।’

गत सिजन नेट रनरेटमा पछि पर्दै बाहिरिएको काठमाडौंले यस पटक त्यस्तो गल्ती नदोहोऱ्याउनेमा करण विश्वस्त छन्।

‘गत वर्ष नेट रनरेटले बाहिरिँदा नराम्रो लागेको थियो। यस पटक हामी एक पटकमा एक खेलमा ध्यान केन्द्रित गर्दै जित निकाल्ने प्रयास गर्नेछौँ ताकि नेट रनरेटको स्थिति नै नआओस्’, उनले भने।

१३१ रनको लक्ष्य टी-२० मा सहज भएको र ओपनरहरूको ७० रनको साझेदारीले जितको आधार तयार पारेको उनको भनाइ थियो।

टोलीका प्रशिक्षक मोन्टी देसाईसँग खेलाडीहरूको राम्रो तालमेल रहेको र त्यसले पनि सहज वातावरण बनेको उनले बताए।

मंसिर १, २०८२ सोमबार २१:१८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।