साझेदारी नबन्दा र ब्याटिङ चुक्दा हारियो : कप्तान अनिल साह
काठमाडौं : जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा ब्याटिङमा साझेदारी बन्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन्।
साविक विजेता जनकपुर आइतबार भएको खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।
खेलपछि प्रतिक्रिया दिँदै साहले आफूहरूले सोचेजस्तो स्कोर बनाउन नसकेको स्वीकार गरे।
‘हामीले १६० रनको लक्ष्य राखेका थियौँ, तर सोचेजस्तो स्कोर खडा गर्न सकेनौँ,’ उनले भने, ‘यस विकेटमा १३० रनको स्कोर निकै कम थियो।’
कप्तान साहले आसिफ शेखले राम्रो सुरुवात गरे पनि अर्को छेउबाट उनलाई साथ दिने ब्याटर नहुँदा टोली कमजोर बनेको बताए।
‘विकेट राम्रै थियो, तर ब्याटिङमा हामी चुक्यौँ। विकेट जोगाउन सकिएन र बीचमा साझेदारी हुन सकेन’, उनले थपे।
१३० रनको स्कोर रक्षा गर्न कठिन भएको स्वीकार्दै उनले दोस्रो इनिङ्समा शीत (ड्यू) ले बलरहरूलाई बल ग्रिप गर्न गाह्रो भएको बताए।
‘१३० रन यो विकेटमा धेरै कम स्कोर हो, विशेषगरी दोस्रो इनिङ्समा शीत परिरहेको बेला’, उनले भने।
साविक विजेताको दबाबबारे सोधिएको प्रश्नमा उनले भने, ‘दबाब अरू टिमलाई होला, हामी त एक पटक जितिसक्यौँ।’
पहिलो हारले दबाब नहुने बताउँदै साहले आगामी खेलका लागि कमजोरी सुधार गरेर मैदान उत्रने बताए।
‘यो प्रतियोगिताको सुरुवात मात्र हो, धेरै खेलहरू बाँकी छन्। हामीसँग ६-७ दिनको विश्राम छ, यो समयमा हामी कमजोरीमा काम गरेर बलियो पुनरागमन गर्नेछौँ’, उनले भने।
उनले टोलीका प्रशिक्षक शिवनारायण चन्द्रपलसँगको अनुभव निकै राम्रो रहेको र उनले क्रिकेटलाई सरल तरिकाले प्रस्तुत गर्दा सहज भएको पनि बताए।
मंसिर १, २०८२ सोमबार २१:०५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।