एनपीएल उद्घाटन खेलमा काठमाडौंको विजयी सुरुवात, साविक विजेता जनकपुर पराजित
काठमाडौं : राजधानीमा आइतबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। काठमाडौंको जितमा बेन चार्ल्सवर्थले अविजित ४६ तथा आकाश त्रिपाठीले ३९ रनको महत्वपूर्ण योगदान दिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जनकपुरका लागि ओपनर आसिफ शेखले ४१ बलमा ५० रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटर चल्न सकेनन्।
काठमाडौंका लागि मिलिन्द कुमारले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। करण केसी, साहब आलम र सन्तोष यादवले एक–एक विकेट हात पारे।
प्रतियोगितामा सिङ्गल राउन्ड रोबिन प्रणालीमा खेल हुनेछ, जसपछि इलिमिनेटर र क्वालिफायर हुँदै फाइनल खेल मङ्सिर २७ गते हुनेछ।
मंसिर १, २०८२ सोमबार २०:५०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।