पुष १० मा भिड्दै छन् ‘मुगलान’ र ‘द ब्ल्यू लाइट’
काठमाडौं : पुष महिना नेपाली फिल्मका लागि खासै अनुकूल समय मानिँदैन। यसअघि पनि पुसमा तुलनात्मक हिसाबले फिल्म प्रदर्शन लगभग न्यून जस्तै देखिन्छ। अरू समयमा डेट नपाएपछि निर्माण पक्षहरूले यो समयमा आफ्नो फिल्म हलमा लगाउने गर्थे, त्यो पनि मन नलगाई, नलगाई।
तर यस पटक भने आगामी पुष १० गते दुई वटा फिल्म भिड्ने तरखरमा छन्। अभिनेत्री बेनिशा हमालको डेब्यु निर्मातामा बनेको फिल्म ‘द ब्ल्यू लाइट’ र अभिनेता प्रभात पाल अभिनीत फिल्म ‘मुगलान’ एकै दिन प्रदर्शनमा आउने भएका छन्। अन्ततः निर्माताहरू जोखिम मोलेरै यो समयमा फिल्म हलमा चलाउन अघि सरेका छन्।
प्रभात पालको फिल्म ‘मुगलान’को रिलिज डेट तोकेको करिब २ सातापछि बेनिशाले आफ्नो फिल्मको रिलिज डेट घोषणा गरेकी हुन्। सोमबार निर्मात्रीसमेत रहेकी बेनिशा हमालको टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै पुष १० गतेलाई रिलिज डेट तोकेका हुन्।
यो पोस्टरमा घर वा होटलको पृष्ठभूमिमा फिल्मका पाँच मुख्य कलाकारहरूलाई आ-आफ्नो क्यारेक्टरमा राखिएको छ। जहाँ महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई देख्न सकिन्छ। बलिराम चौहानको निर्देशन निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’ ‘साइकोलोजिकल थ्रिलर जनरा’मा आधारित रहेको निर्माण पक्षको भनाई छ।
यता प्रभात पाल अभिनीत फिल्म ‘मुगलान’मा टिकटकबाट उदाएकी स्मारिका ढकालले अभिनय गरेकी छन्। उनको यो डेब्यु फिल्म हो। आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतले अभिनय गरेका छन्।
त्रिकोणात्मक प्रेमकथा, गरिबीका साथै परदेश पुगेका नेपालीले भोग्नुपर्ने पीडालाई फिल्मको कथाले बोल्ने छ। यस फिल्मका निर्माता गोमन सिंह हुन भने रिता चौधरी सह-निर्माताका रूपमा रहेकी छन्।
मंसिर १, २०८२ सोमबार १८:०७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।