मधेशको राजनीतिका कारण संघीयतामाथि प्रश्न उठ्यो : नेता अधिकारी
जनकपुर : एमाले नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन्।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अधिकारीले राजनीतिक स्वार्थ बिर्सेर सबै दलहरू एक जुट भई संघीयतालाई प्रभावकारी बनाउनतिर लाग्नु पर्ने अहिलेको आवश्यकता औँल्याए।
उनले मधेस प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि सबै दलहरू एकताबद्ध हुनुपर्ने धारणा राखे। पदका लागि भइरहेको राजनीतिक खेलले संघीयता विरोधीहरू बलियो हुँदै गइरहेको अधिकारीले बताए। उनले अहिलेको सरकार संविधान विपरीत बनेको बताए। उनले निर्वाचन हुने भने पनि अहिलेको सरकारले निर्वाचनका लागि आवश्यक कुनै तयारी नगरेको दाबी गरे।
चुनाव नहुने कुरामा एमाले विश्वस्त रहेको उल्लेख गर्दै उनले नहुने चुनावमा एमालेले ध्यान नदिएको बताए। सुरक्षाकर्मीहरूको हतियार, पोसाक, सामग्रीहरू लुटिएको र जेलमा भएका कयौं कैदी बाहिर रहेको बेला चुनाव गराउने सोच्नु नै गलत रहेको उनको धारणा छ। अधिकारीले संसद पुनः स्थापना गर्नु नै राष्ट्रको हितमा रहेको बताए।
मंसिर १, २०८२ सोमबार १४:२१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।