अब एनआईसी एशिया बैंकले ‘नेपालपे कार्ड’ जारी गर्ने, एनसीएचएलसँग सम्झौता

अब एनआईसी एशिया बैंकले ‘नेपालपे कार्ड’ जारी गर्ने, एनसीएचएलसँग सम्झौता

काठमाडौं : एनआईसी एशिया बैंकले राष्ट्रिय स्तरको भुक्तानी प्रणाली ‘नेपालपे कार्ड’ जारी गर्ने भएको छ।

यसका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग ‘नेशनल कार्ड स्वीच’ तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै ‘नेशनल कार्ड स्वीच’को पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ जारी तथा स्वीकार गर्नका लागि आफ्नो स्वीचमा इन्टिग्रेट गर्न आग्रह गरेको थियो।

यही क्रममा एनआईसी एशिया बैंक यस प्रणालीमा आबद्ध भएको हो। सम्झौतासँगै बैंकले छिट्टै आफ्ना ग्राहकहरूका लागि ‘नेपालपे कार्ड’ जारी र स्वीकार गर्न सक्नेछ।

‘नेशनल कार्ड स्वीच’लाई विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गर्दै स्वदेशी कार्ड कारोबारहरूको राउटिङ तथा सेटलमेन्टका लागि एक केन्द्रीय स्वीचको रूपमा स्थापना गरिएको हो।

यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी कार्ड कारोबारको लागत घटाउन, डाटालाई स्थानीयकरण गर्न सुनिश्चित गर्न र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक, र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ।

नेपालका अग्रणी बैंकहरूमध्येको एनआईसी एशिया बैंकले देशभर रहेका ३६० वटा शाखा, ११५ विस्तारित काउन्टर, ४१ शाखारहित बैंकिङ तथा ६८९ एटीएम टर्मिनलमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यो सहकार्यले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।

मंसिर १, २०८२ सोमबार १४:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।