लुम्बिनी लायन्सलाई नेपाटपको साथ

लुम्बिनी लायन्सलाई नेपाटपको साथ

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स र नेपाटप अर्गनाईजेशनबीच प्रायोजन सम्झौता भएको छ। नेपाटपका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।  

सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष जिसीले प्रतिष्ठित ब्राण्ड नेपाटपसँगको साझेदारीले क्रिकेट टोलीलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे। निजी एवं व्यावसायिक क्षेत्रको प्रवेशले खेलकुदमा अझ फराकिलो आधार तयार गर्ने उनको भनाइ थियो।

त्यस्तै, नेपाटपका अध्यक्ष श्रेष्ठले क्रिकेट खेलको विकासमा बुद्ध भूमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले खेलकुद प्रवर्द्धनमार्फत स्थानीय युवाहरूको प्रतिभा प्रष्फुटन गराउन कम्पनीको सदैव साथ रहने घोषणा गरे।

नेपाटप निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल स्वदेशी बजारमा प्रचलित ब्राण्ड कम्पनी हो। कम्पनीले विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, इलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरू वितरण गर्दै आएको छ।

सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटपका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, वरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति रहेको थियो।

मंसिर १, २०८२ सोमबार १३:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।