खगेन्द्रको नाच: कुशल डान्सर वर्षाको अगाडि फिका

खगेन्द्रको नाच: कुशल डान्सर वर्षाको अगाडि फिका

काठमाडौं : नेपाली फिल्ममा नाच्नै नजान्ने अभिनेतालाई जबरजस्ती नचाउने चलन पुरानै हो। त्यसमाथि पनि राम्रो नाच्ने अभिनेत्रीको अगाडि उनीहरूको बेतालको नाच हेर्दा दर्शकलाई खै के मजा आउँदो हो!

यस्तै दृश्य फिल्म ‘हर्ष’ को ‘कुटु कुटु कस्तो माया बस्यो बरिलै’ गीतमा खगेन्द्र लामिछाने र वर्षा राउतको जोडीमा देख्न सकिन्छ।

अभिनयमा अब्बल मानिने खगेन्द्र, कुशल डान्सर वर्षाको अगाडि नाच्दा मकैबारीको बुख्याच्याजस्तै देखिएका छन्। गीतमा उनको शरीर र खुट्टाको तालमेल मिलेको छैन। लिपसिङ्क गर्दा पनि कहिले हात चलाउन बिर्सन्छन् त कहिले खुट्टा।

उनीहरूको नाचमा तालमेल यतिसम्म मिलेको छैन कि, कतै-कतै त वर्षाभन्दा पहिल्यै खगेन्द्र स्टेप चाल्न थाल्छन्। हेर्दा लाग्छ, यो सुटिङ होइन, डान्सको अभ्यास मात्रै चलिरहेको छ।

खगेन्द्र अभिनयमा पोख्त छन्, तर नृत्यमा भने उनी कमजोर देखिए। गीतको छायाङ्कनअघि केही दिन नृत्यको अभ्यास मात्र गरेको भए पनि सायद यस्तो आलोचना खेप्नु पर्दैनथ्यो।

यसतर्फ कोरियोग्राफर सुनिल क्षेत्रीले पनि ध्यान दिन सक्थे। हतारमै सुटिङ गर्नु परेको भए पनि खगेन्द्रलाई उनको शरीरलाई सुहाउने सजिलो स्टेप दिन सकिन्थ्यो, जसले गर्दा उनी कम्तीमा ‘बुख्याच्या’ जस्तो त देखिँदैनथे।

हेरौं आगामी दिनमा खगेन्द्रले नृत्यमा पनि केही अभ्यास गर्नेछन्। नत्र राम्रो नाच्ने अभिनेत्रीको अगाडि पर्दा लाजमर्दो अवस्था नआउला भन्न सकिन्न।

मंसिर १, २०८२ सोमबार १३:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।