कंगोको कोबाल्ड खानीमा पहिरोमा पुरिएर कम्तिमा ८० जनाको मृत्यु
एजेन्सी : कंगोको दक्षिण-पूर्वी क्षेत्रमा शनिबार एउटा खानीमा पहिरो जाँदा कम्तिमा ८० जनाको मृत्यु भएको छ।
घटनामा धेरै मानिसहरू अझै पनि पुरिएको आशंका गरिएको छ। यो घटना लुआलाबा प्रान्तको मुलोन्डोस्थित कलान्ड्वे खानीमा भएको हो।
एक सरकारी अधिकारीका अनुसार, भारी वर्षा र पहिरोको जोखिमका कारण खानीमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो। तर, त्यसको बेवास्ता गर्दै अवैध खानी मजदुरहरू जबरजस्ती खानीभित्र पसेका थिए।
यसैबीच, कंगोको सरकारी एजेन्सी समईमापेको एक रिपोर्टले भने घटनाको फरक कारण देखाएको छ।
रिपोर्ट अनुसार, घटनास्थलमा सैनिकहरूले गोली चलाएपछि मजदुरहरूमा भागदौड मच्चिएको थियो। ज्यान बचाउन उनीहरू खानीमाथिको पुलतिर भाग्दा पुल नै भत्किएको थियो।
घटनाको एक भिडियो पनि सार्वजनिक भएको छ, जसमा खानीभित्र धेरै मानिसहरू देखिन्छन्। अचानक खानीको ठूलो भाग खस्छ र धेरै मानिसहरू त्यसमा पुरिन्छन्। भागदौडका क्रममा एक-अर्कालाई कुल्चिँदा पनि केहीको ज्यान गएको देखिन्छ।
कंगो विश्वमा कोबाल्टको सबैभन्दा ठूलो उत्पादक देश हो। कोबाल्टको प्रयोग इलेक्ट्रिक गाडी र अन्य उपकरणका लागि चाहिने लिथियम-आयन ब्याट्री बनाउनमा हुन्छ।
यसमध्ये अफ्रिकी देशको ८० प्रतिशत उत्पादन चिनियाँ कम्पनीहरूको नियन्त्रणमा छ। यो देशको खानी उद्योग लामो समयदेखि बालश्रम, असुरक्षित काम गर्ने वातावरण र भ्रष्टाचारजस्ता गम्भीर आरोपहरूसँग जुधिरहेको छ।
मंसिर १, २०८२ सोमबार १२:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।