डिजेलको ट्याङ्करसँग बस ठोक्किँदा साउदी अरबमा दुर्घटना, ४२ भारतीय तीर्थयात्रीको मृत्यु
एजेन्सी : साउदी अरबमा सोमबार राति भएको एक भीषण सडक दुर्घटनामा ४२ जना भारतीय नागरिकको मृत्यु भएको छ।
मक्काबाट मदिना जाँदै गरेको उनीहरू चढेको बस डिजेल बोकेको ट्याङ्करसँग ठोक्किएर आगलागी हुँदा यो घटना भएको हो। मृतकहरूमा २० महिला र ११ बालबालिका रहेका छन्।
जानकारी अनुसार, दुर्घटनामा बसका चालक मात्र जीवित छन्। दुर्घटनामा ज्यान गुमाउने अधिकांश यात्रु भारतको हैदरावादका रहेको बताइएको छ।
यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास भन्ने स्थानमा भारतीय समयअनुसार राति करिब साढे १ बजे भएको हो। दुर्घटना हुँदा अधिकांश यात्रुहरू निदाइरहेकाले उनीहरूले भागेर ज्यान बचाउने मौका पाएनन्।
यसैबीच, भारतको तेलंगाना सरकारले आफूहरू रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
राज्य सरकारले जारी गरेको एक विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग निकट समन्वय गरी मृतकहरूको पहिचान र अन्य प्रक्रिया पूरा गर्न सहयोग गर्न निर्देशन दिएको उल्लेख छ।
मंसिर १, २०८२ सोमबार ११:५५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।