एनपीएल प्रसारणको पूर्वसन्ध्यामा डिसहोम गोको ओटीटीमा समस्यै समस्या
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनु २४ घण्टाभन्दा कम समय बाँकी रहँदा यसको आधिकारिक ओटीटी प्रशारक ‘डिसहोम गो’ को प्लेटफर्ममा गम्भीर प्राविधिक समस्या देखिएको छ।
वेब भर्सन तयार नहुनुका साथै मोबाइल एपमा समेत भुक्तानी गर्न नमिल्दा खेल हेर्न प्रतीक्षारत लाखौं दर्शक अलमलमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)लाई ४ करोड ११ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र ७१ प्रतिशत सेयर दिने सम्झौतासहित एनपीएलको ओटीटी अधिकार पाएको डिसहोमले भारतबाहेक विश्वभर खेल देखाउनेछ।
तर, प्रतियोगिताको मुखैमा प्लेटफर्म तयार नहुँदा उसको तयारीमाथि प्रश्न उठेको छ।
एनपीएल हेर्नका लागि डिसहोम गोले नेपालमा तीन सय रुपैयाँ, मध्य पूर्व (मिडल इस्ट) मा पाँच सय रुपैयाँ र अन्य देशमा १० अमेरिकी डलर शुल्क तोकेको छ। तर, प्रयोगकर्ताहरूले पैसा तिरेर सदस्यता लिन नै नसकेको गुनासो गरेका छन्।
एक प्रयोगकर्ताले भने, ‘भोलि दिउँसो ४ बजेदेखि खेल सुरु हुँदैछ, तर अहिलेसम्म वेब भर्सनबाट पैसा तिर्न र सदस्यता लिन मिलेको छैन। कस्टमर केयरमा फोन गर्दा काम हुँदैछ, साँझसम्म हुन्छ भनेर टारिरहेका छन्।’
यसैबीच, केही प्रयोगकर्ताले प्राविधिक गडबडीका कारण ३०० रुपैयाँको सिजनल प्याकेज जम्मा चार रुपैयाँमा खरिद गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
डिसहोमले पनि एपमा देखिएका विभिन्न ‘बग’ पहिचान गरी समाधानको प्रयास भइरहेको स्वीकारेको छ। विशेषगरी आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरिएको ‘डिसहोम गो’ एपमा सिजन पास किन्दा भुक्तानीका माध्यम नै नदेखिएको गुनासो गरेका छन्।
यस विषयमा डिसहोमका एनपीएल प्रोजेक्ट हेड भुपाल बस्नेतले समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर लागिपरेको बताए।
उनले भने, ‘हाम्रो प्राविधिक टिमले निरन्तर काम गरिरहेको छ। अबको केही बेरमै वेब भर्सन र मोबाइल एपमा देखिएका सबै समस्या समाधान हुनेछन्।’
उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिसहोमले मोबायोटिक्स र अकामाईजस्ता विश्वप्रसिद्ध कम्पनीसँग प्राविधिक सहकार्य गरेको छ।
मोबायोटिक्सले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा एकैपटक २३ लाखभन्दा बढी दर्शकलाई लाइभ स्ट्रिमिङ गराएको अनुभव छ।
त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’सँग काम गर्दै आएको छ।
यस्ता बलिया प्राविधिक साझेदार हुँदाहुँदै पनि एनपीएलको सुरुवातमा नै डिसहोमको सेवामा देखिएको समस्याले प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको देखाएको छ।
कात्तिक ३०, २०८२ आइतबार १८:१२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।