‘झरि पछिको इन्द्रेणी’बाट पाँडेको निर्देशकीय अग्निपरीक्षा हुँदै

‘झरि पछिको इन्द्रेणी’बाट पाँडेको निर्देशकीय अग्निपरीक्षा हुँदै

काठमाडौंः टेलिफिल्म ‘सक्किगोनी’मा रमाइरहेका पाँडे अर्थात् अर्जुन घिमिरेको अग्निपरीक्षा सुरु भएको छ। उनीसँगै टेलिफिल्ममा सहकार्य गर्दै आएका कुमार कट्टेल र दीपक आचार्य भने आफ्ना अग्निपरीक्षा पार गरिसकिसकेका छन्।

कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ले न गतिलो व्यापार गर्यो, न प्रशंसा पायो। न समिक्षकको हिसाबले नै राम्रो मानियो। टेलिफिल्मको शैलीमै फिल्म बनाएर ‘सक्किगोनी’बाट पाएको चर्चा पनि माटोमा मिलाए सरह भयो।

त्यही टिमबाट बाहिरिएका ‘काकु’ नामले परिचित दीपक आचार्यले पनि ‘परान’ फिल्म बनाए- त्यो पनि उनको डेब्यु फिल्म। पहिलो सातादेखिनै दर्शक हलमा जाने मुडमै थिएनन्। फिल्म राम्रो भए पनि दर्शकले दीपकलाई पत्याउन एक हप्ता लाग्यो। अन्ततः एक हप्ता पछिबाट हलमा दर्शक ओइरिन थालेपछि उनी दंग छन्। उनको अग्निपरीक्षामा उनी लगभग पास भइसकेका छन्। उनको फिल्मले तीन हप्तामै पार गरिसकेको छ।

सोही टिमबाट बाहिरिएका ‘पाँडे’का उपनामले परिचित अर्जुन घिमिरे पनि फिल्म निर्देशनमा होमिएका छन्। उनले ‘सक्किगोनी’को टिमभन्दा बाहिरका कलाकार राखेर ‘झरिपछिको इन्द्रेणी’ निर्माण गरेका छन्, जुन फिल्म पुष ४ गतेबाट हलमा रिलिज हुँदैछ।

फिल्म प्रदर्शनका लागि तयारीमा रहेको यस फिल्मको गीत ‘फसायो लमी’ शनिबार रिलिज भइसकेको छ। डेब्यु फिल्मको यो गीतलाई दर्शकले रुचाएका छन्। सरल शब्दरचना र संगीतमा बनेको यो गीतमा एक दिनमै ७७१ कमेन्ट आएका छन्, जसमा अधिकांशले गीतको प्रशंसा गरेका छन्। समाचार तयार पर्दाको अवस्थामा गीतमा ८ हजारभन्दा बढी लाइक भइसकेका छन्। समीक्षा अधिकारी र बसन्त थापाले गाएको गीतमा शब्द, सङ्गीत र संयोजन रमेश परियारको छ।

लोकदोहोरी भिडियो शैलीमा खिचिएको यस गीतमा पुराना अभिनेता रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामा आदिले नाचेका छन्। अञ्जली अधिकारी र प्रदीप लामा यस प्रमोसनल भिडियोमा अतिथि रूपमा देखिएका छन्।

यो गीतको भिडियो मात्रै राम्रो हो कि फिल्म पनि राम्रो छ- यो भने फिल्म रिलिज भएपछि मात्रै थाहा होला। तर, यो फिल्मबाट घिमिरेका लागि चुनौतीपूर्ण अवस्था छ, किनकि यो उनको डेब्यु निर्देशकिय फिल्म हो।

फिल्म चलाउनका लागि उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह) को सहारा खोजेको देखिन्छ। किनभने उनले फिल्मको पहिलो गीत नै बालेनकै युट्युब च्यानलमार्फत रिलिज गरेका छन्।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, राम कार्की र सुबास शर्मा सह-निर्माता छन्। लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।

फिल्ममा बालेनको लगानी रहेको चर्चा पनि नचलेको होइन्। यद्दपी सह-निर्मातामा अरूकै नाम छ। तर पाँडे किन मेयर बालेनकै युट्युबमार्फत प्रचार सामग्री रिलिज गर्दैछन् ? यसबारे भने केही खुलाइएको छैन।

फिल्म राम्रो भए ‘काकु’ को ‘परान’ जसरी चलिहाल्छ नि, हैन र? कि कसो हो पाँडे जी?

कात्तिक ३०, २०८२ आइतबार १४:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।