एलओडीमा गुञ्जिए ग्यास्ट्रो सर्जन
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्रा. डा. रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट प्रस्तुत गरेका छन्।
‘When Profession Meets Passion, Magic Happens’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा भण्डारीलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टिमले साथ दिएको थियो।
कलेजो प्रत्यारोपण विशेषज्ञसमेत रहेका भण्डारीले कन्सर्टको सुरुवात ‘नीलो आकाश’ गीतबाट गरेका थिए। करिब दुई घण्टा चलेको कार्यक्रममा उनले आफ्ना ७ सहित १८ वटा गीत गाए।
‘चिकित्सा पेसामा रहेको मान्छेले कन्सर्ट गर्नु मेरो लागि बिल्कुलै फरक अनुभव भयो। पहिलो कन्सर्ट रमाइलो पनि भयो र आदर-सम्मान पनि पाएँ,’ कन्सर्टपछि उनले भने, ‘पेसा बाहेक पनि आफ्नो प्यासनलाई जीवन्त राख्नुपर्छ भन्ने सोचले यो कन्सर्ट गरेको हुँ।’
करिब १८ वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय भण्डारीका ‘ओढेर पछ्यौरी’, ‘सकिएन’, ‘धन्यवाद’, ‘कसरी भनूँ’, ‘तिम्रो नै माया’, ‘एउटा जीवन’ लगायतका गीत सार्वजनिक भइसकेका छन्।


कात्तिक ३०, २०८२ आइतबार ११:१९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।