युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

एजेन्सी : युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो।

रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार रूसी सेनाले युक्रेनको रक्षा उद्योगलाई सहयोग गर्ने ऊर्जा संरचना, सैन्य विमानस्थल तथा युक्रेनको रक्षा खुफिया निकायको सञ्चार केन्द्रमा प्रहार गरेको बताइएको छ। सोही क्रममा जापोरिज्झियाको एक बस्ती आफ्नो नियन्त्रणमा ल्याइएको दाबी गरिएको छ।

उता युक्रेनी सशस्त्र फौजले भने रूसको रियाजन आयल प्रशोधनमा प्रहार गरिरहेको दाबी गरेको छ। उक्त प्रशोधन केन्द्रले वार्षिक ८४ टन सैन्य इन्धन उत्पादन गर्ने बताइन्छ।

रूसद्वारा नियुक्त जापोरिज्झिया क्षेत्रका प्रमुख येभगेनी बालित्स्की ले सामाजिक सञ्जालमार्फत युक्रेनले क्षेत्रका महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्दा ४४ हजारभन्दा बढी मानिस अस्थायी रूपमा विद्युत् विहीन भएको जानकारी दिएका छन्।

विद्युत् मर्मत टोलीले सूधार कार्य सुरु गरिसकेको पनि उनले लेखेका छन् । यद्यपी, युक्रेनले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

यसैबीच, युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभले सामाजिक सञ्जालमा जानकारी दिंदै युक्रेन र रूसबीच वार्ता सम्पन्न भएको र इस्टानबुलमा भएको कैदी विनिमय सहमति पालन गर्न दुवै पक्ष तयार भएको बताएका छन्। सहमति कार्यान्वयन भएमा १,२०० युक्रेनी कैदीहरू मुक्त हुने अपेक्षा गरिएको छ। 

कात्तिक ३०, २०८२ आइतबार ०९:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।