डा. सन्दीपको उपचार अनुभव : १६ हप्ताको गर्भको भ्रूणको मृत्यु हुँदा समेत गर्भवती भएको थाहा नपाएकी ती महिला...
जनरल सर्जन डा. सन्दीप कुमार ओखेडा बझाङ जिल्ला अस्पतालमा कार्यरत छन्। दुर्गमका बिरामीको औषधि उपचारमा नै रमाएका उनले दुर्गमका बिरामीका दुःख पिडा नजिकबाट बुझेका छन्। डा. सन्दीपले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेको अनुभव उकेरासँग साटेका छन्।
चार महिनाको गर्भको भ्रूणको मृत्यु हुँदासमेत गर्भवती भएको थाहा नपाएपछि...
बझाङमा नै काम गर्दा एक जना महिलाको उपचार गरेको घटना डा. सन्दीप कहिल्यै भुल्दैनन्। घटना करिब ८ वर्ष अघिको हो। जतिखेर डा. सन्दीप बझाङ जिल्ला अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत थिए। बझाङको दुर्गम ठाउँ साइपाल गाउँपालिकाबाट तीन दिनमा बोकेर एक जना करिब ४० वर्षकी बिरामी महिलालाई बझाङ जिल्ला अस्पताल पुर्याइयो।
ती महिला दश दिनभन्दा धेरै समयदेखि पेट दुख्ने समस्याले थला परेकी रहिछन्। तर, के भएर पेट दुख्यो भन्ने थाहा थिएन। पेट दुख्ने समस्या ठिक गर्न गाउँमा जडिबुटीको औषधि त गरियो नै। पेट दुखेको ठिक हुन्छ भन्ठानेर तल्लो पेटमा तातो फलामले डामिएको समेत रहेछ। फलामले डामेका कारण महिलाको पेटको छालामा घाउ समेत भएको थियो। अस्पताल पुर्याउँदा महिलाको अवस्था शिथिल थियो। रक्तश्राव समेत भइरहेको थियो।
कसैगरी पनि ठिक नभएपछि मात्रै अन्तिम विकल्पका रुपमा तीन दिन बोकेर महिलालाई अस्पताल पुर्याइएको रहेछ। महिलाको समस्या र गरिएको घरेलु उपचारबारे सोधखोजपछि चिकित्सकको टिमले पेट दुखाईको कारण पत्ता लगाउन ती महिलाको पेटको अल्ट्रासाउण्ड गर्यो।
अल्ट्रासाउण्ड गर्दा त ती महिलाको गर्भमा करिब १६ हप्ता (चार महिना)को मृत भ्रूण देखियो। त्यो उनको पाँचौं गर्भ थियो। त्यसअघि ती महिलाका चार सन्तान थिए। तर, ती महिलाले आफू पाँचौ पटक गर्भवती भएको भने थाहा नै पाइनछिन्। अरु कुनै कारणले पेट दुखेको होला भन्ठानेकी थिइन, ती महिला र उनका परिवारले।
तर, आफू गर्भवती भएर भ्रूणको मृत्यु भएको थाहा पाएपछि ती महिला र उनका श्रीमान लगायत परिवार पनि छक्क परे। चार महिनासम्म पनि गर्भवती भएको थाहा नपाएको बताउँदा चिकित्सकको टिम पनि छक्क पर्यो।
ती महिलाको भ्रूण गर्भमा नै मृत्यु भएको थाहा पाइसकेपछि चिकित्सकको टिमले चिकित्सकीय विधि अपनाएर बिना शल्यक्रिया गर्भको त्यो मृत भ्रूण निकाल्यो। औषधि उपचार गरी ती महिलाको पाठेघर सफा गरियो। रगत चढाइयो। करिब एक हप्ताको औषधि उपचारपछि ती महिलालाई बचाएर चिकित्सकको टिमले अस्पतालबाट डिस्चार्ज गर्यो।
सामान्य लेखपढ समेत गर्न नजान्ने ती महिला र उनका श्रीमान डिस्चार्ज हुनेबेलामा निक्कै कृतज्ञ भएको सम्झन्छन्, डा. सन्दीप। उनीहरू शब्दले नभई हाउभाउले कृतज्ञ भएको देखिएको उनले सुनाए।
जुम्ल्याहा बच्चा जन्माएकी ती महिलालाई दुई महिनापछि डिस्चार्ज गर्दा
उपचारकै शिलशिलाको अर्को घटना पनि कहिल्यै भुल्दैनन्, डा. सन्दीप। घटना करिब ५ वर्ष अघिको बझाङ जिल्ला अस्पतालकै हो। जतिबेला उनी मेडिकल अधिकृतका रुपमा त्यहाँ कार्यरत थिए।
सुत्केरी ब्याथाले च्यापेपछि करिब २३ वर्षकी गर्भवती महिलालाई अस्पताल पुर्याइयो। ती महिला ३२ हप्ताकी गर्भवती थिइन्। ती महिला पहिलो सन्तान जन्माउने तयारीमा थिइन्।
अस्पतालमा पुर्याइएकी ती महिलाको गर्भमा जुम्ल्याहा बच्चा रहेको थाहा भयो। औषधि उपचारपछि ती महिलाले बिनाशल्यक्रिया नै जुम्ल्याहा बच्चा जन्माइन्। समय अगावै जुम्ल्याहा बच्चा जन्मिएकाले सुविधा सम्पन्न अस्पतालमा ती महिलालाई सुत्केरी गराउनु पर्ने थियो। तर, रिफर गर्न सम्भव थिएन। बच्चा जन्मिएपछि पनि सुविधासम्पन्न अस्पतालमा नै राख्नुपर्ने थियो।
तर, ती महिलाको परिवारको आर्थिक अवस्था जरजर थियो। त्यसैले अन्यत्र रिफर गरेर पठाउने अवस्था भएन। अन्यत्र पठाउने अवस्था नभएकाले ती महिला र नवजात शिशुलाई बझाङमा नै राखेर उपचार गरियो। ती महिला र जुम्ल्याहा नवजात शिशुलाई करिब दुई महिना अस्पतालमा भर्ना गरेर राख्नुपर्यो।
धन्य, उपचारपछि आमा र जुम्ल्याहा नवजात शिशुको स्वास्थ्य राम्रो भयो। अनि करिब दुई महिनाको अस्पताल बसाईपछि आमा र नवजात शिशुलाई डिस्चार्ज गरियो। स्रोत र साधनको अभावको बाबजुत आमा ती नवजात जुम्ल्याहा शिशुलाई बचाएर घर पठाउन सकेको त्यो प्रसंग सम्झँदा अझै डा. सन्दीपलाई आनन्द लाग्छ।
रक्तश्रावले मृत्युको मुखमा पुगेकी ती महिला
त्यसैगरी अर्की एक जना महिलालाई बचाएको प्रसंग पनि डा. सन्दीप कहिल्यै भुल्दैनन्। घटना केही वर्ष अघिको हो। सुत्केरी ब्याथाले छटपटाएकी करिब ३५ वर्षकी महिलालाई बझाङ अस्पताल पुर्याइयो। जतिबेला उनी त्यहाँ मेडिकल अधिकृतका रुपमा नै कार्यरत थिए।
सामान्य रुपमा सुत्केरी गराउने अवस्था नभएपछि ती गर्भवतीको तुरुन्तै शल्यक्रिया (सिजरियन सेक्शन) गरेर गर्भको बच्चा निकाल्न सफल भयो चिकित्सकको टिम। तर, बच्चा निकालेपछि ती महिलाको एक्कासी अत्याधिक रक्तश्राव भयो। रक्तश्राव भएपछि चिकित्सकको टिमले रक्तश्रव रोक्ने हर कोसिस गर्यो। तर, रक्तश्राव रोकिएन। रक्तश्राव नरोकिएपछि पाठेघर काटेर फाल्नुपर्ने अवस्था निम्तियो। जुन ठूलो शल्यक्रिया थियो। तर, त्यहाँ विशेषज्ञ चिकित्सक भने थिएनन्।
शल्यक्रियागरी पाठेघर नफ्याँक्दा आमाको ज्यान नै जाने जोखिम भयो। उनी मृत्युको मुखमा पुगिसकेकी थिइन्। पाठेघर काटेर फाल्दा थप समस्या होलाकी भन्ने डर थियो। तर, चिकित्सकको टिमले आँट गर्नुको विकल्प नै थिएन। त्यसैले ती महिलाका आफन्तसँग सल्लाह गरेर ज्यान बचाउने अन्तिम विकल्पका रुपमा चिकित्सकको टिमले पाठेघर नै काटेर फालिदिए। पाठेघर काटेर फालिदिएपछि रक्तश्राव रोकियो। महिलाको ज्यान बाँच्यो। केही दिनको औषधि उपचारपछि ती महिला र उनको नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको सम्झन्छन्, डा. सन्दीप।
दुर्गममा जन्मिएका सन्दीप निरन्तर दुर्गमकै उपचारमा रमाउँदै
सन्दीप बझाङको जयपृथ्वी नगरापलिकामा २०४८ मा जन्मिए। उनले बझाङकै सत्यवादी माध्यामिक विद्यालयबाट २०६३ मा प्रथम श्रेणीमा एसएलसी गरे। उनले पोखरामा प्लस टु गरे।
डा. सन्दीपलाई डाक्टर बन्ने खुब रहर थियो। त्यसैले उनले डाक्टरी विषय अध्ययनका लागि तयारी गरे। छनोट परीक्षा दिए। अध्ययनमा अब्बल उनले सरकारी छात्रवृति कोटामा एमबीबीएस अध्ययन गर्ने मौका पाए। छनोट भएर काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा सन् २०१० मा भर्ना भएर एमबीबीएस अध्ययन सुरु गरे। सन् २०१६ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।
त्यसपछि एमबीबीएस अध्ययन गरे बापत दुई वर्षे छात्रवृत्ति करारमा काम गर्नका लागि डा. सन्दीप जिल्ला अस्पताल बझाङ पुगे। त्यहाँ करिब डेढ वर्ष काम गरेपछि उनी २०७४ मा लोकसेवामार्फत आठौं तहको मेडिकल अधिकृतका रुपमा स्थायी सरकारी जागिरमा प्रवेश गरे।
सरकारी जागिरे भएपछि डा. सन्दीपले पोष्टिङ भएर तत्कालीन महाकाली अञ्चल अस्पताल पुगेर करिब ६ महिना काम गरे। त्यसपछि बझाङकै देउलेख प्राथमिक स्वास्थ्य केन्द्र पुगेर करिब ६ महिना काम गरे। देउलेखपछि २०७६ मा डा. सन्दीप सरुवा भएर बझाङ जिल्ला अस्पतालमा नै पुगे। त्यहाँ २०७९ सम्म करिब तीन वर्ष अस्पताल प्रमुखको रुपमा रहेर काम गरे। कोरोना कालमा बझाङमा स्रोत साधनको अभावको बाबजुत कोरोना संक्रमित बिरामीको उपचार गरेका क्षणहरू उनी कहिल्यै भुल्दैनन्।
डा. सन्दीपले थप अध्ययन गर्ने नै भए। चिकित्सा शास्त्रको स्नातकोत्तर तहको उनको अध्ययनको छनोटको विषयमा जनरल सर्जरी (एमएस) पर्यो। उनले सरकारी छात्रवृत्ति कोटामा नै त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा जनरल सर्जरी विषयमा ‘एमएस’ अध्ययन थाले। तीन वर्षे एमएस सकिएपछि पनि उनी फर्केर दुर्गम नै पुगे। २०८२ वैशाखमा फर्केर उनी बझाङ जिल्ला अस्पताल नै पुगे। हालसम्म उनी त्यहीँ अस्पताल प्रमुखको रुपमा कार्यरत छन्।
उनी आठौंबाट नवौं तहको मेडिकल सुपरिटेन्डेन्टका रुपमा समेत बढुवा भएका छन्। दुर्गममा जन्मिएका डा. सन्दीप निरन्तर दुर्गमका बिरामीको औषधि उपचारमा नै खटिएका छन्। आर्थिक अभाव र जनचेतनाका कमीका कारण कयौं बिरामीहरु हाइड्रोसिल, हर्निया जस्ता सुरुमा सामान्य लाग्ने रोगहरु पालेर बसको थाहा पाउँदा उनको पनि मन अमिलो हुन्छ। स्रोत साधनको अभावका बाबजुत यस किसिमका शल्यक्रिया गर्दै आएको डा. सन्दीपले सुनाए।
एकातर्फ दुर्गमका बिरामीहरू आर्थिक अभावका कारण सामान्य किसिमका रोग समेत पालेर ढिलागरी अस्पताल पुग्नेगरेको डा. सन्दीपले सुनाए।
अर्कातर्फ जनशक्ति र स्रोत साधनको सिमितताका कारण दुर्गमका ती बिरामीहरुलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता हुँदा उनको मन अमिलो हुन्छ। त्यसैले दुर्गमका अस्पतालमा पुगेका बिरामीलाई बचाउनका लागि सरकारले दुर्गमका स्वास्थ्य संस्थामा जनशक्ति र स्रोत साधन बढाउनुपर्ने उनको सुझाव छ।
कात्तिक २९, २०८२ शनिबार १६:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।