दोस्रो संस्करणको एनपीएलबाट ३५ करोड बढी आम्दानी हुने क्यानको प्रक्षेपण
काठमाडौं : आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणबाट ३५ करोडभन्दा बढी रकम संकलन हुने अनुमान गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रायोजक, टिम सहभागिता शुल्क, टिकट बिक्री र ओटिटी अधिकारबाट उक्त रकम आम्दानी हुने प्रक्षेपण गरेको हो।
क्यानका कोषाध्यक्ष पदम खड्काले लिगको आर्थिक पक्षबारे जानकारी दिँदै दोस्रो संस्करणमा कुल ३५ करोडभन्दा बढीको कारोबार हुने अनुमान सार्वजनिक गरेका हुन्।
खड्काका अनुसार, प्रतियोगिताका लागि विभिन्न प्रायोजकहरूबाट १५ करोड ३० लाख रुपैयाँ संकलन हुनेछ। त्यस्तै, प्रतियोगितामा सहभागी ८ टिमबाट कुल ९ करोड रुपैयाँ आम्दानी हुनेछ।
यसैगरी, लिग अवधिभर टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ। ओटिटी (ओभर-द-टप) प्लेटफर्मको अधिकार बिक्रीबाट हुने आम्दानीको पनि ७१ प्रतिशत क्यानले पाउनेछ।
ओटीटीबाट उठेको कुल रकमबाट ५ करोड ३० लाख रुपैयाँ कटाएर बाँकी रहेको रकमको ७१ प्रतिशत हिस्सा क्यानको खातामा आउने सचिव खड्काले स्पष्ट पारे।
कात्तिक २९, २०८२ शनिबार १३:४१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।