जेनजी आन्दोलनपछि राजनीतिमा कलाकार : मीन भाम चुनावै लड्ने, दीपक र ऋचा भन्छन्- ‘अहिले गइँदैन, पछि भन्न सकिन्न’
काठमाडौं : गत भदौमा भएको ‘जेन-जी आन्दोलन’पछि नेपाली कला क्षेत्रमा राजनीतिको तरंग फैलिएको छ।
सडकमा उत्रिएर परिवर्तनको आवाज बोल्नेदेखि राजनीतिक दलका छलफलमा सहभागी हुनेसम्म कलाकारहरूको सक्रियता बढेको छ।
कोही नयाँ पार्टीमा आबद्ध भएका छन्, कोही चुनाव लड्ने घोषणा गरिरहेका छन् भने केही चर्चित अनुहारहरू ‘पर्ख र हेर’ को अवस्थामा छन्।
यो लहरमा ‘शाम्भला’ का निर्देशक मीन भाम चुनावी मैदानमा उत्रिने लगभग पक्का भएको छ भने हास्यकलाकार दीपकराज गिरी र अभिनेत्री ऋचा शर्माले तत्काल राजनीतिमा नआउने तर भविष्यको सम्भावनालाई नकार्न नसकिने बताएका छन्।
चुनावी मैदानमा होमीने तयारीमा मीन भाम
आफ्नो सिर्जनामार्फत अन्तर्राष्ट्रिय पहिचान बनाएका निर्देशक तथा निर्माता मीन भामले अब प्रत्यक्ष राजनीतिमा आउने घोषणा गरेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध उनले आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारी गरिरहेका छन्। त्यसअघि पार्टीको महाधिवेशनमा पदाधिकारीमा नै उम्मेदवारी दिने उनको योजना छ। राजनीतिमा आफ्नो रुचिको विषयमा उनी प्रस्ट छन्।
उकेरासँगको कुराकानीमा उनी भन्छन्, ‘राजनीतिमा आउने कुरा त मैले मेरो शाम्बाला रिलिज हुनु अघिबाट नै भन्दै आएको कुरा हो। मलाई पोलिटिक्समा इन्ट्रेस्ट छ र यो बेला युवा अथवा राजनीतिमा चासो राख्ने मान्छेहरु आउनु नै पर्छ भन्ने मान्यता राख्छु, जहिल्यै पनि। यसमा अब को को आउने कसरी आउने त्यो उनीहरुको च्वाइजको कुरा भयो।’
विगतमा नेपाली कांग्रेसको घोषणापत्र लेखनदेखि केन्द्रीय कार्यसमितिमा रहेर काम गरिसकेका भाम समानुपातिकको बन्द सूचीमा समेत थिए। कांग्रेसको महाधिवेशन भयो भने पदाधिकारीमै उम्मेदवारी दिने तयारीमा छन् उनी। राजनीतिको कुरामा आफू स्पष्ट रहेको उनी बताउँछन्।
यद्यपि उनी आफ्नो चुनावी क्षेत्रबारे उनी लचिलो देखिन्छन्। काठमाडौं क्षेत्र नम्बर ३ उनको पहिलो रोजाइ भए पनि पार्टीले दिने जिम्मेवारी स्वीकार्न तयार रहेको उनको भनाइ छ।
उनी अगाडि भन्छन्, ‘म पहिलादेखि नै यहीँ बसिरहेकाले चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ मेरो पहिलो रोजाइ हुन्छ। तर पार्टीले भोलि जताको टिकट दिए पनि म जान तयार छु।’
राजनीतिमा लागे पनि फिल्म लाइन छोड्ने मुडमा छैनन् उनी। चुनाव चाँडै हुन्छ भनेर अहिले स्क्रिप्टको काम धमाधम सक्ने तरखरमा छन्। पहिलादेखि नै गरिआएको कुरा भएर फिल्म छोड्न नसकिने उनको भनाइ छ।
रिमा र निशा नयाँ पार्टीमा
‘कमेडी च्याम्पियन’ लगायतका रियालिटी शोबाट चर्चित बनेकी अभिनेत्री तथा प्रस्तोता रिमा विश्वकर्मा पनि राजनीतिमा प्रवेश गरिसकेकी छन्।
उनी कुलमान घिसिङको नेतृत्वमा खुलेको ‘उज्यालो नेपाल पार्टी’को केन्द्रीय सदस्यमा मनोनित भएकी छन्। यद्यपि, उनी पूर्णकालीन राजनीतिमा लाग्ने वा कलाकारितामै फर्कने भन्नेबारे खुलेर बोलेकी छैनन्।
त्यस्तै, अभिनेत्री निशा अधिकारी मल्ल ‘गतिशील लोकतान्त्रिक पार्टी’मा आबद्ध भएकी छन्।
निर्वाचन आयोगमा दल दर्ता गराउन आफैँ पुगेकी उनी पार्टीको केन्द्रीय सदस्य बनिसकेकी छन्। उनले आगामी १० वर्ष फिल्मभन्दा राजनीतिलाई नै प्राथमिकता दिने स्पष्ट पारिसकेकी छन्।
दीपकराज गिरी अहिले गइँदैन, भविष्यमा भन्न सकिन्न
जेनजी आन्दोलनका बेला सामाजिक सञ्जालमा प्रखर रूपमा प्रस्तुत भएका हास्यकलाकार दीपकराज गिरी र अभिनेत्री ऋचा शर्माले भने तत्काल राजनीतिमा आउने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा राजनीतिक विषयमा निरन्तर लेख्ने र काठमाडौंका मेयर बालेन शाहसँगको भेटघाटका कारण दीपक राजनीतिमा आउने चर्चा चुलिएको थियो। तर, उनी अहिले आफूलाई एक सचेत नागरिक र व्यंग्यकर्मीकै भूमिकामा सीमित राख्न चाहन्छन्।
‘मलाई गएको चुनावमै पार्टीबाट टिकटको अफर आएको थियो, तर अहिले मेरो मुड छैन,’ उनी भन्छन्, ‘म विद्यार्थीकालमा राजनीतिशास्त्र पढेको र राजनीति गरेको व्यक्ति हुँ, त्यसैले देशको अवस्थाबारे बोल्छु। तर, अहिलेको राजनीतिक माहोल फरक विचारलाई स्वीकार गर्ने खालको छैन।’
हास्यव्यङ्ग्यकर्मी सधैँ सत्ताको प्रतिपक्षमा हुनुपर्ने उनको मान्यता छ।
‘हाम्रो काम सत्ताको भजन गाउने होइन, गलत कामलाई व्यङ्ग्यमार्फत सचेत गराउने हो,’ उनी थप्छन्, ‘जुन दिन म राजनीतिमा आउँछु, त्यो दिन चलचित्र क्षेत्रलाई गुडबाई गर्छु। दुई डुङ्गामा खुट्टा राखेर हिँड्न सकिँदैन।’ उनले कम्तिमा १० वर्ष राजनीतिमा नआउने र खस्किँदो चलचित्र क्षेत्रलाई उकास्न लाग्ने बताए।
ऋचा शर्मा: ‘राजनीति बुझ्ने हो, गर्ने होइन’
अभिनेत्री ऋचा शर्मा पनि देशको राजनीतिक अवस्थाबारे निरन्तर बोलिरहेकी हुन्छिन्। तर, उनको उद्देश्य राजनीतिमा प्रवेश गर्नु नभई एक सचेत नागरिकको भूमिका निर्वाह गर्नु हो।
उकेरासँग उनले भनिन्, ‘मलाई राजनीतिमा आउने कुनै रुचि छैन, तर राजनीति बुझ्ने रुचि चाहिँ छ। देशको नागरिक भएकाले भइरहेका घटनाक्रमबारे प्रश्न उठाउनु र सामाजिक सञ्जालमा लेख्नु स्वाभाविक हो।’
भविष्यमा के हुन्छ भन्न नसकिने तर आगामी पाँच वर्षसम्म आफू राजनीतिमा कतै नदेखिने उनले स्पष्ट पारिन्।
यता, आन्दोलनमा सक्रिय देखिएका अभिनेता तथा निर्देशक निश्चल बस्नेत भने हालसालै आमाको निधन भएकाले शोकमा छन्। त्यसैले उनको आगामी योजनाबारे केही यकिन भएको छैन।
कात्तिक २९, २०८२ शनिबार १२:१६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।