मालिकले बोर्डको आलोचना गर्दा रोकियो पाकिस्तान सुपर लिगको फ्रेन्चाइज मुल्तान सुल्तान नवीकरण प्रक्रिया

मालिकले बोर्डको आलोचना गर्दा रोकियो पाकिस्तान सुपर लिगको फ्रेन्चाइज मुल्तान सुल्तान नवीकरण प्रक्रिया

काठमाडौं : पाकिस्तान सुपर लिग (पीएसएल) र मुल्तान सुल्तान फ्रेन्चाइजबीचको विवादले नयाँ मोड लिएको छ।

पीएसएल व्यवस्थापनले लिगको आलोचना गरेका मुल्तानका मालिक अली तरिनलाई फ्रेन्चाइज नवीकरणको प्रस्ताव नै नपठाई बाहिर राख्ने संकेत दिएको छ। अन्य सबै ५ फ्रेन्चाइजले भने आफ्नो स्वामित्व नवीकरण गर्ने अवसर पाएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले ‘नियम पालना गर्ने सबै फ्रेन्चाइज’लाई नवीकरणको प्रस्ताव पठाइएको पुष्टि गरेको छ।

तर मुल्तान सुल्तानका एक प्रतिनिधिले आफूहरूले यस्तो कुनै प्रस्ताव नपाएको स्पष्ट पारेका छन्, जसले पीएसएल र तरिनबीचको टकराव सतहमा आएको देखाउँछ।

के हो विवादको जड?
तरिनले पीएसएल व्यवस्थापनको पारदर्शिता र सञ्चार शैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाएपछि पीएसएलले उनलाई सार्वजनिक रूपमा माफी नमागे ‘ब्ल्याकलिस्ट’ (कालोसूचीमा राख्ने) गर्ने धम्की दिएको थियो।

उक्त धम्कीपछि तरिनले एक व्यंग्यात्मक भिडियोमार्फत माफी मागेका थिए। भिडियोमा उनले ‘पीएसएललाई अझ राम्रो बनाउन खोजेकोमा’ माफी चाहन्छु भन्दै व्यंग्य गरेका थिए।

भिडियोको अन्त्यमा उनले पीसीबीले पठाएको पत्र च्यातेर फ्याँकिदिएका थिए। पीसीबीले उनको यो ‘माफी’ लाई स्वीकार नगरेको स्पष्ट देखिन्छ।

पीसीबीले स्पष्ट पारेको छ कि फ्रेन्चाइज नवीकरणको पहिलो अधिकार ‘नियम पालना गर्ने’टोलीलाई मात्र दिइनेछ।

तरिनले सार्वजनिक आलोचना गरेर त्यो मापदण्ड पूरा नगरेको पीसीबीको ठहर छ। यसैकारण, मुल्तान सुल्तानलाई नवीकरण प्रक्रियाबाट बाहिर राखिएको बुझिएको छ।

प्रस्ताव पाएका अन्य फ्रेन्चाइजहरूले १० दिनभित्र जवाफ दिनुपर्नेछ र उनीहरूले वार्षिक फ्रेन्चाइज शुल्कमा कम्तिमा २५ प्रतिशत बढी तिर्नुपर्ने हुन सक्छ।

यसैबीच, पीएसएलले अर्को सिजनदेखि दुई नयाँ टोली थपेर लिगलाई ८ टोलीको बनाउने घोषणा गरेको छ।

नयाँ टोलीका लागि हैदराबाद, सियालकोट, मुजफ्फराबाद, फैसलाबाद, गिलगिट र रावलपिंडी जस्ता शहरहरूको नाम प्रस्तावित गरिएको छ, जसबाट दुई शहर छनोट हुनेछन्।

आठ टोली सम्मिलित नयाँ पीएसएल अर्को वर्ष अप्रिल र मे महिनामा आयोजना हुने तालिका छ।

कात्तिक २९, २०८२ शनिबार ११:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।