शैलुङमा पर्यटक बोकेको माइक्रोबस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १७ जना घाइते

शैलुङमा पर्यटक बोकेको माइक्रोबस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १७ जना घाइते

दोलखा : दोलखाको शैलुङ गाउँपालिका-६, कालापानीमा शनिबार दिउँसो माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

काठमाडौंबाट शैलुङ घुमेर फर्कँदै गरेको माइक्रोबसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, काठमाडौंको मच्छेगाउँबाट आएका यात्रु बोकेर फर्कँदै गरेको बागमती प्रदेश ०१-००२ ज ६२०८ नम्बरको माइक्रोबसको अचानक ब्रेक फेल भएको थियो।

गौरीशंकर गाउँपालिका-१, जुँगुका ४५ वर्षीय चालक गोकुल कार्कीले चलाएको अनियन्त्रित माइक्रोबस सडकबाट करिब १० मिटर तल रहेको गौतम बुद्धको शालिकमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गोरखा घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने ६० वर्षीया एकुमाया अर्यालको शैलुङ अस्पतालमा उपचारका क्रममा साँझ ५:५५ बजे मृत्यु भएको हो।

उनको शव पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ।

दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौं नागार्जुन-१ का संजित अर्याल, लक्ष्मी अर्याल र सासा रावल अर्यालको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।

अन्य सामान्य र मध्यम घाइतेहरूलाई पनि शैलुङ अस्पतालमा प्रारम्भिक उपचारपछि शनिबार राति पौने ९ बजे थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। चालक गोकुल कार्कीको अवस्था भने सामान्य रहेको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय, मागापौवाबाट करिब ११ किलोमिटर पश्चिममा पर्दछ।

कात्तिक २९, २०८२ शनिबार ०८:३३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।