नाटक देखाउन बर्दिया पुगेका नाजिर प्राविधिक समस्याले दिक्क, दर्शकसँग मागे माफी

नाटक देखाउन बर्दिया पुगेका नाजिर प्राविधिक समस्याले दिक्क, दर्शकसँग मागे माफी

काठमाडौं : नाजिर हुसेन पछिल्लो समयमा खासै चर्चामा छैनन्। उनी अभिनीत फिल्म ‘गुन्यु चोलो’ राम्रो बने पनि चलेन। यसअघि प्रदर्शनमा आएको ‘केटी हराएको सूचना’ बाट त उनी आफैँ हराए-न दर्शक तान्न सके, न आएका दर्शकलाई रिझाउन। बरु उनी आफ्नै लेखन-निर्देशन रहेको ‘हरि हजुरबुबा’ नाटक निर्माणमा लागे र मण्डलामा मञ्चन गरे।

दुई महिनाअघि मण्डलामा हिट भएको यो नाटकले २२ लाखभन्दा बढी कमाएको निर्माण पक्षको दाबी छ। यस नाटकमा उनी आफैँ मुख्य भूमिकामा छन् भने उनलाई पछिल्लो समयका चर्चित अभिनेता विजय बरालले साथ दिएका थिए। दुवै फिल्मबाट अपेक्षित नतिजा नआएपछि नाजिर फेरि नाटकतर्फ फर्किएका हुन्।

तर नाटकमा पनि उनी सहज छैनन्। विद्धुतिय तथा प्राविधिक समस्याले उनलाई पटक-पटक धोका दिइरहेको छ। नाजिर ‘हरि हजुरबुबा’ लिएर बर्दियाको गुलरिया बजार पुगेका छन्। नाटक सुरु हुनुअघि नै चार वटा लाइट र ध्वनि मिलाउने मिक्स्चर चल्न छाडेपछि उनले दर्शकसँग माफी मागे।

‘हामीलाई माया गरेर आउनुभएको करिब २-३ हजार दर्शकमाझ हामीले हाम्रो आवाज पुर्याउन सकेनौँ। तपाईँहरूलाई निराश बनाउनु हाम्रो चाहना होइन। तपाईँहरू सबै करिब एक घन्टा धैर्य गरेर बसिदिनुभएकोमा मुटुभरि माया। तपाईँहरूको असन्तुष्टिप्रति पनि क्षमा माग्छु,’ उनले लेखेका छन्। 

उनले आफूले हार नमानेको बताउँदै आज नाटक पूर्ण रूपमा व्यवस्थित तरिकाले मञ्चन गर्ने जानकारी दिए। नाटक आजै गुलरिया बजार (राधाकृष्ण चोक) मा साँझ ६ बजे मञ्चन हुने उनले बताए।

कात्तिक २८, २०८२ शुक्रबार १५:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।