घाँटीमा काँचो बोसो अड्किएर चितवनमा एक वृद्धको मृत्यु
चितवन : चितवनको कालिका नगरपालिकामा राँगाको काँचो बोसो खाँदा घाँटीमा अड्किएर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ।
कालिका नगरपालिका-७, त्रिनाथ टोल निवासी झमत प्रसाद पनेरुको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार, पनेरुले आफ्नै घरमा मादक पदार्थ सेवन गरेपछि स्थानीय एक भट्टी पसलमा पुगेका थिए। सोही क्रममा उनले राँगाको काँचो बोसो खाँदा घाँटीमा अड्किएपछि उनी एक्कासी बेहोस भई ढलेका थिए।
घटनालगत्तै उनका छोरा दिप्पाल पनेरुले उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पुर्याएका थिए। तर, अस्पतालले दिउँसो ३ बजे उनलाई मृत घोषणा गरेको थियो।
अस्पतालमा खटिएको प्रहरीले घटनाबारे इलाका प्रहरी कार्यालय, टाँडीलाई जानकारी गराएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल जुटपानी प्रहरी चौकीबाट करिब २ किलोमिटर उत्तरमा पर्दछ।
कात्तिक २८, २०८२ शुक्रबार १०:५०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।