आर्थिक हब बन्दै रुपन्देही : होटल, अस्पतालदेखि उद्योगसम्म अर्बौंको लगानी

आर्थिक हब बन्दै रुपन्देही : होटल, अस्पतालदेखि उद्योगसम्म अर्बौंको लगानी

बुटवल : रुपन्देहीमा एकैपटक पाँचतारे होटल, अत्याधुनिक अस्पताल र अमेरिकामा फ्रेन्च फ्राइज निर्यात गर्ने ठूलो उद्योग स्थापना भएसँगै स्वास्थ्य, पर्यटन तथा उद्योगको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ।

यसले लगानी, उपलब्धि र आशाको नयाँ अध्याय जिल्लामा सुरु भएको सन्देश दिएको छ। औद्योगिक, व्यापारिक, शैक्षिक, पर्यटकीय र पूर्वाधार विकासमा अब्बल रुपन्देही हरेक सम्भावना बोकेको जिल्ला हो।

रुपन्देहीमा ३ अर्बको लगानीमा अत्याधुनिक सुविधासहितको एड्भान्स इन्टरनेसनल अस्पताल भैरहवामा सञ्चालनको अन्तिम तयारीमा छ। बुटवलमा भर्खरै ३ अर्ब ५० करोडकै लागतमा पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ।

त्यस्तै, २ अर्बको लागतमा रुपन्देहीको शुद्धोधन गाउँपालिकामा फर्स्ट च्वाइस फुड्स उद्योग स्थापना भएसँगै यसले अमेरिकामा फ्रेन्च फ्राइज निर्यात गर्न सुरु गरेको छ।

‘यी तीनवटा ठूला लगानीका व्यावसायिक प्रतिष्ठानका कारण रुपन्देहीमा हरेक सम्भावना छ भन्ने सन्देश गएको छ’, प्रदेश योजना आयोग, लुम्बिनीका पूर्व उपाध्यक्ष डा. ईश्वर गौतमले बताए।

रुपन्देही भारतसँग सिमाना जोडिएको जिल्ला हो। यहाँ उत्पादन भएका वस्तुहरू बजारसम्म पठाउन र उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा हुने सहजता मात्र होइन, व्यवसायीको लगानी सुरक्षित हुने भएकाले पनि उद्योगीहरू यहाँ लगानी गर्न तयार भएका छन्।

जसका कारण जिल्लामा नयाँ-नयाँ रोजगारी सिर्जना भइरहेको छ। त्यति मात्र हैन, औद्योगिक पहिचानलाई विश्वसामु चिनाउने काम पनि भएको छ।

रुपन्देहीको बेलहिया नाका भारतले लगाएको नाकाबन्दी र मधेशका ठूला आन्दोलनमा पनि खासै प्रभावित भएन। प्रमुख नाका वीरगन्ज लामो समय ठप्प बनेपछि त्यहाँको आयात विस्थापित भएर यहाँबाट हुन थाल्यो।

भारतीय नाकाबन्दी अनि तराईका आन्दोलनले पनि यस नाकामा प्रभाव नपारेपछि पर्यटन र उद्योगमा स्वदेशी र विदेशी लगानीकर्ता रुपन्देहीमा आकर्षित बनेका हुन्।

‘रुपन्देहीमा ठूला लगानीका प्रतिष्ठानहरू सञ्चालनमा आउँदा यहाँ लगानीको वातावरण छ भन्ने सन्देश दिएको छ। यसले बहुराष्ट्रिय कम्पनीहरूलाई समेत रुपन्देहीमा लगानी गर्दा सुरक्षित र भरपर्दो हुन्छ भन्ने लाग्न सक्छ। यो जिल्लाका लागि मात्र नभई नेपालकै लागि राम्रो हो’, डा. गौतमले भने।

उनले सबैतिर नैराश्यता छाएको बेला उद्योगी, व्यवसायीले गरेको आँटप्रति सबैले साथ दिनुपर्ने बताए।

‘यसले निजी क्षेत्रमा अझै साहस छ भन्ने देखाउँछ। यस्ता उद्योग-व्यवसाय बढे भने सिंगो रुपन्देही जिल्ला नै आर्थिक सहर बन्नेछ’, उनले भने।

उनले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल सम्मेलन केन्द्र, बुटवल-बेलहिया सडक निर्माणजस्ता विकाससँगै पर्यटन र निर्यातजन्य उद्योग स्थापना हुनु सुखद रहेको भन्दै यसले आर्थिक रूपान्तरण गर्ने बताए।

पछिल्लो समय भैरहवा, लुम्बिनी, बुटवलमा तीव्र गतिमा पर्यटन तथा औद्योगिक पूर्वाधार निर्माण हुनुका साथै लगानीमैत्री वातावरण बनिरहेकाले पनि उद्योगीहरू लगानी गर्न हौसिएका छन्। भारतसँगको आयात-निर्यातका लागि सहज र नजिकको दूरी भएका कारण जिल्लामा लगानी गर्नेहरूको संख्या बढेको छ।

डेढ दशकअघिसम्म दिउँसै ‘स्याल कराउने’ सुनसान भैरहवा-लुम्बिनी सडक क्षेत्र अहिले औद्योगिक करिडोरमा परिणत भएको छ। यहाँ मात्रै ५० भन्दा बढी साना, ठूला उद्योगहरू छन्।

गत वर्ष मात्र रूपन्देहीमा साढे ५ अर्ब लगानी भित्रिएको तथ्यांक घरेलु तथा साना उद्योग कार्यालयको छ। जिल्लामा साना तथा मझौला उद्योग खुल्ने क्रम बढेपछि गत आर्थिक वर्ष (२०७९/८०) मा ५ अर्ब ४७ करोड २६ लाख ३३ हजार २४ रुपैयाँ लगानी थप भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल १ हजार १ सय ६३ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगबाट कुल ३ हजार ९ सय २१ जनालाई रोजगारी मिलेको तथ्यांकमा उल्लेख छ। यसरी नयाँ लगानी थपिनु र रोजगारीको अवसर सिर्जना हुनुले जिल्लाको समग्र विकासमा टेवा पुगेको छ।

एक वर्षमै अर्बौं लागतमा ठूला उद्योग-व्यवसाय सञ्चालन
रुपन्देहीमा पछिल्लो एक वर्षमा मात्र ७ अर्बभन्दा बढीको लगानीमा उद्योग एवं व्यवसाय सञ्चालनमा आएका छन्।

भैरहवाका व्यवसायी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले रोहिणी गाउँपालिका-४, कोटहवामा अर्गानिक मल उद्योग सञ्चालनमा ल्याएका छन्।

५ बिघा क्षेत्रफलमा ३१ करोड रुपैयाँ लगानी गरी ‘रत्नम अर्गानिक दानेदार मल’ उत्पादन सुरु गरिएको छ। उद्योगले दैनिक १०० मेट्रिक टनभन्दा धेरै परिमाणमा अर्गानिक मल उत्पादन गर्दै आएको छ, जबकि यसको क्षमता दैनिक २०० मेट्रिक टन छ।

मल नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सूचीकृत गरी उत्पादन भइरहेको सञ्चालकले बताए। उद्योगमा ४० जनाले रोजगारी पाएका छन्।

त्यस्तै, ठूलो लगानीमा केही महिनाअघि मात्र रुपन्देहीको सियारी भगदरीमा पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा आएको छ।

उद्योगमा नेपालकै प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहका उज्ज्वलकुमार श्रेष्ठसँगै रितेश सिलवाल, नारायण केसी र आशिष श्रेष्ठले ८० करोड लगानी गरेका छन्। उद्योगले नेपालमै पहिलोपटक चारवटा रङमा युपीभीसी प्रोफाइल उत्पादन सुरु गरेको छ।

‘अहिले मुलुकभर वार्षिक १३ हजार मेट्रिक टन युपीभीसी प्रोफाइलका झ्याल-ढोका खपत हुन्छ, जसमध्ये करिब ९० प्रतिशतभन्दा धेरै चीन र भारतबाट आयात हुन्छ।

ती युपीभीसीको गुणस्तर कहीँकतै जाँच हुँदैन र वारेन्टी पनि पाँच-सात वर्षको मात्रै छ। तर, पञ्चकन्या डिमेक्सले २० वर्षको वारेन्टी दिएर गुणस्तरीय उत्पादन बजारमा पठाउन सुरु गरेको छ’, उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले भने।

बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। २५ कट्ठा क्षेत्रफलमा निर्माण सुरु भएको ५ वर्षपछि होटल सञ्चालनमा आएको हो।

ग्लोबल आईएमई बैंक र होटल स्याफ्रोनको संयुक्त लगानीमा निर्माण भएको होटलमा एक रातमा २५० जना बास बस्न सक्छन्। होटलका सञ्चालक चुन्नुप्रसाद पौडेलले केही महिनाभित्रै क्यासिनो सञ्चालन गर्ने गरी काम भइरहेको बताए।

होटलमा बौद्ध दर्शनका चार आर्य सत्य (दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ) बाट प्रेरित भई शक्ति र स्थिरताको प्रतीकका रूपमा चारवटा विशेष वास्तुकला स्तम्भ बनाइएको छ।

होटलमा कुल १०९ वटा अतिथि कक्ष र सुइट्स छन्। होटल सञ्चालकहरूमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडेल र श्रवण बेरिवाल रहेका छन्। होटलमा ३०० जनाले रोजगारी पाएका छन्।

रुपन्देहीकै शुद्धोधनमा रहेको फर्स्ट च्वाइस फुड्सले उत्पादन गरेको फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको छ। ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको हो। उद्योगका सञ्चालक कृष्ण पौडेलले ४२ मेट्रिक टन फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको बताए।

दुबई, मलेसिया, साउदी अरेबियाजस्ता तेस्रो मुलुकहरूमा पनि निर्यात गर्ने तयारी उद्योगको छ। दुई अर्बको लागतमा सञ्चालनमा रहेको उद्योगले युरोपेली प्रविधियुक्त संयन्त्रबाट एक घण्टामा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्न सक्छ। उद्योगले वार्षिक २ हजार टन आलु खपत गर्ने गरी ३५ हजार किसानलाई आफूसँग जोडेको छ।

जिल्लाको सिद्धार्थनगर नगरपालिकामा एड्भान्स इन्टरनेसनल अस्पताल सञ्चालनमा आउने अन्तिम तयारीमा छ। झन्डै ३ अर्ब रुपैयाँ लगानीमा निर्माणको अन्तिम चरणमा रहेको एड्भान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी अस्पताल १५० बेडको हुनेछ। अस्पतालमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को अगुवाइमा नबिल बैंकले २ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।

अस्पताल निर्माण गर्न निफ्राले १ अर्ब ५४ करोड तथा नबिल बैंकले १ अर्ब रुपैयाँसम्म लगानी गर्ने भएका छन्। बाँकी संस्थापकहरूको सेयर लगानी हुनेछ। अस्पतालमा सुरज उप्रेतीको ५७ प्रतिशत र कमल भण्डारीको ४३ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचना बनाइएको छ।

कात्तिक २८, २०८२ शुक्रबार १०:०४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।