अनन्तको अन्तिम मिनेटको गोलले नेपाललाई जोगायो, बङ्गलादेशसँग रोमाञ्चक बराबरी

अनन्तको अन्तिम मिनेटको गोलले नेपाललाई जोगायो, बङ्गलादेशसँग रोमाञ्चक बराबरी

काठमाडौं : डिफेन्डर अनन्त तामाङले इन्जुरी समयमा गरेको दर्शनीय गोलको मद्दतमा नेपालले बिहीबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली बङ्गलादेशसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा अनन्तले 'ब्याकहिल फ्लिक' मार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई हारबाट जोगाएका हुन्। नेपालका लागि अर्को गोल रोहित चन्दले गरेका थिए भने बङ्गलादेशका दुवै गोल स्टार खेलाडी हम्जा चौधरीले गरे।

खेलको २९ औँ मिनेटमा उपकप्तान रोहित चन्दको गोलबाट नेपालले अग्रता लिएको थियो। सुमित श्रेष्ठले डि-बक्सभित्रबाट दिएको 'कटब्याक' पासलाई रोहितले पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गर्दा घरेलु टोली स्तब्ध बनेको थियो। यो रोहितको दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

तर, दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले उत्कृष्ट पुनरागमन गर्यो। ४६ औँ मिनेटमा कप्तान जमाल भुयानको पासमा हम्जाले दर्शनीय ‘ओभरहेड किक’ मार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसको तीन मिनेटपछि नै नेपालले पेनाल्टी बेहोर्यो। डिफेन्डर सुमन श्रेष्ठले डि-बक्सभित्र रकिब हुसेनलाई लडाएपछि पाएको पेनाल्टीलाई हम्जाले सहजै गोलमा परिणत गर्दै बङ्गलादेशलाई २-१ को अग्रता दिलाए।

जिततर्फ अग्रसर घरेलु टोलीलाई खेलको अन्तिम समयमा अनन्तले निराश बनाए। कर्नरबाट आएको बललाई उनले 'ब्याकहिल फ्लिक' मार्फत गोल गरेपछि घरेलु दर्शक शान्त भएका थिए।
यो नतिजासँगै बङ्गलादेशले नेपालविरुद्ध जितविहीन यात्रालाई निरन्तरता दिएको छ।

सन् २०२० नोभेम्बरयता बङ्गलादेशले नेपाललाई हराउन सकेको छैन। गत भदौमा दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

एएफसी एसियन कप छनोटको तयारीस्वरूप खेलिएको यो मैत्रीपूर्ण खेलपछि नेपाली टोली अब बङ्गलादेशबाटै मलेसिया प्रस्थान गर्नेछ। नेपालले एसियन कप छनोट अन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ। छनोटको सुरुवाती चार खेलमा पराजित भइसकेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ।

कात्तिक २८, २०८२ शुक्रबार ०८:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।