नृत्य निर्देशक दिनेशसँग हिजोका कुरा : डान्सरहरूलाई दालमोठ र चिउरामा टारिन्थ्यो, कलाकारले पनि हेप्थे
काठमाडौं : नेपालका पुराना नृत्य निर्देशकमध्ये एक हुन् दिनेश पाख्रिन। धनुषामा जन्मिएका पाख्रिनको बाल्यकाल त्यहीँ बित्यो। पढाइमा अब्बल र नाच्नमा सिपालु रहेका दिनेश गाउँमा मात्र होइन, जिल्लाजिल्लामा नाचेर दर्शकलाई मनोरञ्जन दिने गर्थे। उनका बुबा सब-इन्जिनियर थिए। बुबाले छोरालाई डाक्टर बनाउने इच्छा राखे पनि दिनेशको मन भने नाचगान लिन लिप्त थियो।
त्यो समयमा बनेका भिडियो फिल्ममा काम गर्दै उनले अभिनेता भुवन केसी र सुस्मिता केसीको फिल्म ‘करोडपति’मा असिस्टेन्ट नृत्य निर्देशकका रूपमा काम गर्ने मौका पाए। सो फिल्मका नृत्य निर्देशक शान्ता नेपाली भए पनि भुवन र सुस्मितालाई डान्सका स्टेप सिकाउने जिम्मा दिनेशकै थियो। त्यसपछि उनले लगातार थुप्रै फिल्मका गीतमा हिरो-हिरोइनलाई नचाए। उनै दिनेशले उकेरा को साप्ताहिक स्तम्भ ‘हिजोका कुरा’मा आफ्ना अनुभव सुनाएका छन्।
पढाइमा ट्यालेन्ट, ट्युसन पढाउँदै पढ्दै
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-६ मेरो गाउँ हो। पहिले यसलाई उमाप्रेमपुर गाविस भनिन्थ्यो। मैले त्यहीँ नजिकको स्कुलमा कक्षा २ सम्म पढेको थिएँ। त्यहाँ पढ्दै गर्दा मलाई काठमाडौं ल्याइयो र यहाँ कक्षा ३ मा भर्ना गरियो। मेरी आमा काठमाडौंमै बसोबास गर्नुहुन्थ्यो, त्यसैले म पनि यहाँ आएँ।
तर केही समयपछि बुबाले फेरि मलाई धनुषाको धारापानी भन्ने ठाउँमा लगेर पढाउनुभयो। त्यहीँको श्री जनता माध्यमिक विद्यालयमा मैले कक्षा ७ सम्म पढेँ। म सानैदेखि पढाइमा ट्यालेन्ट थिएँ। अहिले त त्यो स्कुलको नाम पनि परिवर्तन भइसकेको होला।
कक्षा ७ मा पुगेपछि जीवनमा निकै कठिनाइ भोगेँ। मेरा बुबा सडक विभागमा सब–इन्जिनियर पदमा हुनुहुन्थ्यो। बुबा सधैं बाहिर बाहिरै, आमा दुई जना, र म कान्छो पट्टिको माइलो छोरा। मेरी एक दिदी गोलबजारमा हुनुहुन्थ्यो।
साल २०४२ तिर मेरो जेठो दाजु ईश्वर लामा नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो। उहाँ बेपत्ता हुनुभयो। पछि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले उहाँलाई सहिद घोषणा गर्नुभयो। त्यो समयमा मैले धेरै दुःख पाएँ। ट्युसन पढाउँदै आफू पनि पढ्ने गरेको थिएँ।
त्यो बेला म नाच्न र फुटबल खेल्न पनि निकै सिपालु थिएँ। जिल्लास्तरका प्रतियोगितामा नाच र खेल दुबैमा सहभागी हुन्थेँ र प्रायः जित्थेँ।
त्यही समयमा बुबाले मलाई मावली सर्लाही लैजानुभयो। मेरो मावली वाइवा हो। बुबा र आमाले प्रेम विवाह गर्नुभएको रहेछ। आमाका बुबा भने अहिलेको भरतताल क्षेत्रका पहिलो प्रधानपञ्च हुनुहुन्थ्यो-परिवार खानदानी नै थियो।
बुबा सरकारी जागिरे, पढेलेखेका मानिस। के हुन्छ भनेर मलाई लिएर जानुभयो, तर त्यहाँ पुग्दा हजुरबुबाले खुकुरी बोकेर लखेट्नुभयो-“यो अब केही हुँदैन,” भनेर। बुबा र आमाको सम्बन्ध त्यहीँ टुट्यो।
आमा मावलीमै बस्नुभयो। पछि काठमाडौं आएर गलैँचा फ्याक्ट्री खोलेर बस्न थाल्नुभयो। हजुरबुबा–हजुरआमाले आमालाई छोरा सरह सम्पत्ति दिएर राख्नुभयो। म त्यहीँ बसेर पढाइ जारी राखेँ। अन्ततः त्यही श्री जनता माध्यमिक विद्यालयबाट एसएलसी दिएँ र राम्रै अंकमा पास गरेँ।
हिरो बन्ने सोच थियो, डान्स डाइरेक्टर भए
मैले पहिले पनि भनेँ, मलाई डान्समा कसैले पनि सक्दैनथ्यो। गाउँ र अन्य ठाउँमा हुने फुटबल खेलमा म सधैं सहभागी हुन्थेँ। मेरा धेरै साथीहरू अहिले पनि खेलकुदमै छन्, तर म भने बिस्तारै डान्सतर्फ बढी आकर्षित भएँ।
सानो कदको भए पनि कराँतेमा पनि राम्रो थिएँ- ब्ल्याकबेल्टसम्म जितेको छु। सानै उमेरमा म जहाँ कार्यक्रम हुन्थ्यो, त्यहाँ ननाचेको ठाउँ थिएन। कार्यक्रम भएको ठाउँमा ‘दिनेश पाख्रिन नहुने’ कुरा नै सम्भव थिएन। सर्लाहीमा मेरो राम्रो क्रेज थियो। यो करिब २०४५ सालतिरको कुरा हो।
त्यो समयमा फुटबल खेल्दा अहिलेका हिरो निखिल उप्रेती र अभिनेत्री साराङ्गा श्रेष्ठ पनि हुन्थे। साराङ्गा र म त सँगै नाच्थ्यौँ। निखिल त हामी खेल्दा हेरेर बस्थे। साराङ्गा डान्समा हामीभन्दा अलि सिनियर थिए। जल शाह पनि सर्लाहीकै हुनुहुन्छ।
त्यो बेला म नाच्दा कहिले फिल्ममा खेल्ने मौका पाइएला भन्ने सोच्थेँ। जब मैले एसएलसी दिएँ, त्यसपछि आमा सँगै बस्न र पढाइ जारी राख्नका लागि काठमाडौं आएँ।
आमा गलैचा फ्याक्ट्रीकी हामिक हुनुहुन्थ्यो, त्यसैले पैसाको कमी थिएन। उता बुबा सब-इन्जिनियर। जहाँ जहाँ म जान्थेँ, मेरो डान्सको प्रशंसा हुन्थ्यो। त्यसैले मनमा ‘अब हिरो बन्छु’ भन्ने सपना पलायो।
हाइट धेरै थिएन, अनुहार पनि सामान्य, तर पनि त्यो समयमा मनमा हिरो बन्ने ठूलो चाहना थियो। काठमाडौं आउजाउ गर्दा शिव श्रेष्ठ, रविन्द्र खड्का, युवराज लामा लगायत पुराना कलाकारहरूसँग भेटघाट हुने गर्थ्यो।
करोडपतिमा शान्ताको असिस्टेन्टबाट प्रवेश
त्यो समयमा नेपालीभन्दा बढी हिन्दी गीतमै नाचिन्थ्यो। नेपाली गीतमा नाच्ने अवसर निकै कम थियो। छिमेकी मुलुकको संगीतको प्रभाव त्यतिबेला निकै थियो, अहिले पनि केही अंशमा छँदै छ।
सोही क्रममा मैले ‘खाते’ भन्ने भिडियो फिल्ममा काम गर्ने अवसर पाएँ। सुरुमा मलाई त्यसमा कलाकारको रूपमा राखिएको थियो, तर पछि म सोही फिल्मको डान्स डाइरेक्टर बनेँ। त्यहीँबाट मैले अभिनयभन्दा पनि कोरियोग्राफीतर्फ ध्यान दिन थालेँ-डान्स सिकाउने, कोरियोग्राफी गर्ने र अवार्ड जित्ने लक्ष्यका साथ।
फिल्म करोडपति मा मलाई सहायक नृत्य निर्देशकको रूपमा अफर आयो। शान्ता नेपाली दिदीको असिस्टेन्ट बनेर मैले भुवन केसी, सुस्मिता केसी बम्जनलगायतलाई नाच सिकाउने जिम्मा पाएँ। त्यो फिल्मका अधिकांश गीतका स्टेप मैले नै तयार पारेको हुँ।
डान्स निर्देशक हुनुअघि असिस्टेन्टको अनुभव आवश्यक पर्छ। त्यसैले शान्ता दिदीको साथमा करोडपति मा काम गर्ने अवसर मेरो लागि ठूलो मोड थियो। त्यसपछि दिदीसँगै मैले नेपाली बाबु फिल्ममा पनि काम गर्ने मौका पाएँ।
भुवन र सुस्मितालाई नचाउन घरमै जान्थेँ
मैले उनीहरूलाई करोडपति र नेपाली बाबु फिल्मका गीतहरूमा नाच सिकाउन उनीहरूको घरमै जान्थेँ। राति १२–१ बजेसम्म सिकाएर फर्किन्थेँ। कहिलेकाहीँ उनीहरूले नै मलाई सिनामंगलसम्म पुर्याँउन आउँथे। भुवन केसीलाई डान्स सिकाउन निकै गाह्रो पर्थ्यो, तर उहाँले कोसिस चाहिँ धेरै गर्नुहुन्थ्यो।
यसअघि मैले मदहोस भन्ने भिडियो फिल्म निर्देशन गरिसकेको थिएँ। त्यसपछि खेल र यातना मा पनि काम गरेँ। ती कामहरूको निकै प्रशंसा भयो। सिरियल यातना मा रबिन्द्र खड्का दाइ हिरो हुनुहुन्थ्यो। सिरियलहरूमा समेत मैले नृत्य निर्देशन गरेको छु- झमेला, गहना लगायत थुप्रै सिरियलहरूमा। झमेला मा त अहिलेका प्रायः सबै हास्य कलाकारहरू खेलेका थिए।
शहर, क्रान्ती, चिनारी, गेटपाले, आवारा लगायतका हिट गीतहरूमा मैले कोरियोग्राफरका रूपमा काम गर्ने मौका पाएँ। मुग्लिङ बजार नघुमी भा छैन, तिम्रो आँखैले बोलायो के गरुँ, चमेलीको फूलमा भन भन भमरा, माया गर मायालुले, दुई चुल्ठी बाटेर लगायत दर्जनौँ गीतहरू हिट भएका छन्।
क्यारिग्याङका हिट–हिट गीतहरूमा काम गरिसकेपछि “अब कति नाच्नु र नच्याउनु?” भन्ने लागेर मैले नृत्य संघ खोलेँ। त्यसपछि म पहिलो नृत्य संघको अध्यक्ष पनि बनेँ।
डान्सरलाई हेपेर चिउरा र दालमोठमात्र दिइन्थ्यो
म डान्स डाइरेक्टर हुँदा आफ्नै पीडा थियो। सुटिङमा खान पाइनँ। हामीलाई चिउरा र दालमोठ मात्र दिन्थे। हामीजस्ता डान्सरलाई धेरै हेपिन्थ्यो। त्यो बेलामा नृत्य निर्देशकहरू असाध्यै पीडित थिए। “तैट, यो नाच्ने!” भनेर हेप्थे। राजनीतिक दलका मान्छेहरूले पनि सांस्कृतिक टोली भनेर टार्थे। नाच्ने-गाउनेलाई मान्छेले राम्रो मान्दैन थिए।
किनभने त्यस समयमा डान्स गर्नेहरूमा अलि बढी तेस्रो लिङ्गी हुन्थे, जसलाई समाजले हेप्थ्यो। अनि हामीजस्ता अरुलाई पनि सोही दृष्टिले हेर्थे। निकै दुःख थियो। आम्दानी नै थिएन। तल्लो स्तरका मानिसझैँ व्यवहार हुन्थ्यो। निर्माता–निर्देशक भए राम्रो, तर नाच्ने भए त बेवास्ता। जमाना नै त्यस्तो थियो।
मैले करोडपति लगायतका फिल्ममा काम गरेको पारिश्रमिक अहिलेसम्म पाएको छैन। के कुरा गर्नुहुन्छ, त्यो समयमा धेरै पायो भने पाँच–सात हजार हुन्थ्यो। पछि गएर १५ हजारसम्म पुग्यो। अहिले मैले सिकाएका भाइहरूले एउटा गीतबाटै राम्रै कमाइ गर्छन्। त्यो बेला कहाँ यस्तो थियो र? साँच्चै नै नाजुक समय थियो त्यो।
निर्माता बन्दा कुनैमा कमाएँ, कुनैमा डुबाएँ
कलाकार र कोरसलाई कति फिल्मको पर्दामा नचाउने भन्ने लागेर मैले आफैं लगानी गरेर मिस्टर डन बनाएँ। यो फिल्ममा निखिल उप्रेती र शिव श्रेष्ठलाई राखेको थिएँ। राजेश हमाललाई पनि कुरा गरेको थिएँ, तर निर्देशक मदन घिमिरे र हमालबीचको लफडाका कारण उहाँ खेल्नुभएन। फिल्म लेख्नका लागि मैले विकास आचार्यलाई लगाएँ-त्यो बेला उनी निर्देशक नै भएका थिएनन्।
मिस्टर डन बाट मैले राम्रै कमाएँ। त्यसपछि राजेश हमाल, झरना थापा र दिलिप रायमाझीलाई राखेर मेरो प्यारो माइतीघर बनाएँ, तर यो फिल्म सुपर डब्बा भयो-हलबाट सुक्को पैसा आएन। त्यही भएर पनि हार मानेनँ र अर्को फिल्म लभ इन चाइना बोर्डर बनाएँ। यसमा सुनिल थापा, जेनिशा केसी, सुभाष मेचे र रोहित तामाङ थिए। तर यो फिल्मले पनि हलबाट एक रुपैयाँसमेत ल्याएन। ७० लाख खर्च गरेर बनेको यो फिल्म पनि स्वाहा भयो।
३९ लाखमा बनाएको मिस्टर डन सुपरहिट भयो। त्यसपछि मैले रुद्राक्ष बनाएँ-त्यो पनि सस्तोमा, ३०–३५ लाखमा। यसले ५० लाखजति कमायो। त्यसपछि “अब त आफूले नै निर्देशन गर्नुपर्यो” भनेर टिन एच बनाएँ। निर्माता पनि म आफैं। यो फिल्म हिट भयो, राम्रै कमायो। नयाँ कलाकार राखेर बनाएको फिल्म मिडियाभरि चर्चामा आयो। जापानबाट नै मैले १० लाख ल्याएँ। मैले बुझें-धेरै लगानी गरेर फिल्म राम्रो हुन्छ भन्ने होइन, सस्तोमा राम्रो बनायो भने पनि चल्ने रहेछ।
यदि म जमिनदारको छोरा नभएको भए, फिल्म फ्लप हुँदा सुत्न सक्दिनथे होला। तर मेरो एक टुक्रा जमिन बेच्दा पनि खासै फरक नपर्ने भएकाले आनन्दले सुत्थें। सुरुको फिल्मले तराईमै १० कठ्ठा जमिन जोडेको थिएँ, पछि फ्लप भएपछि बेचें। टिन एच ले फेरि कमायो-हरिसिद्धीमा साढे तीन आना जमिन जोडेको छु। अहिले त एक करोडभन्दा बढीको सम्पत्ति भइसकेको छ।
दिलिपलाई डान्स सिकाउन सहज, राजेश र भुवनलाई गाह्रो
मैले अघिल्ला पुस्ताका अभिनेता राजेश, भुवन, शिव श्रेष्ठदेखि अहिलेका साम्राज्ञी र पल शाहसम्मलाई नचाएको छु। तर सबैभन्दा सजिलो नचाउन मलाई दिलिप रायमाझी लाग्थ्यो। दिलिपपछि सुशील क्षेत्री नचाउन सहज लाग्थ्यो।
अभिनेत्रीहरूमा कुरा गर्ने हो भने रेखा थापा सबैभन्दा सहज। उहाँको मुस्कानले नै देश खाईदिन्छ, डान्सको त कुरै छैन। अहिले अलि पाको भए पनि उहाँजस्तो नाच्ने हिरोइन छैन।
तर सबैभन्दा नचाउन गाह्रो भनेको राजेश हमाललाई हो। जुन फिल्ममा पनि टाउको कन्याउने र हल्का हल्लिने मात्र। मैले सिकाएँ पनि त्यही, वसन्त श्रेष्ठले सिकाए पनि त्यही। जसले सिकाए पनि उसको आफ्नै पारा। फिल्ममा हेर्दा पनि थाहा हुन्छ नि। अर्को दृष्टिले हेर्ने हो भने सजिलो पनि उही-एउटै स्टेप, सिकाइरहनै नपर्ने।
निखिल उप्रेतीलाई पनि नचाउन गाह्रै छ। अमरप्रेम, घायल, हलचल, दोबाटो लगायत थुप्रै फिल्ममा नचाएँ। पल शाह सुरुमा ठिक लाग्थ्यो, पछि त मन पर्नै छोड्यो। ‘मै हुँ’ भन्ने किसिमको रहेछ। उसलाई मैले एउटा गीतमा राम्रै पैसा दिएर सर्लाहीमा लगेर नचाएको थिएँ। तर त्यो गीत उसले एकपटक पनि सेयर गरेन। जेलबाट बाहिरिएलगत्तै मैले त्यो गीत पहिलोपटक रिलिज गरेको थिएँ।
विपना थापासँग झगडा, अहिलेसम्म बोलचाल छैन
षडयन्त्र भन्ने फिल्मको सुटिङका बेला विपना थापा एकदमै चलेकी थिइन्। म पनि त्यतिबेला डान्स डाइरेक्टरका रूपमा निकै व्यस्त थिएँ। मेरो दिनचर्या कस्तो थियो भने-दिउँसो निखिललाई डान्स सिकाउँथें, राति राजेश हमाललाई। त्यति व्यस्त थिएँ।
त्यो फिल्मको सुटिङमा विपनाले डान्स डाइरेक्टर र कोरसलाई हेप्ने गरेको मलाई लाग्यो। मलाई फेरि कसैले हेपेको मन पर्दैन। म सबैलाई नमस्कार गर्ने, कसैलाई हेप्दिनँ, र हेपाइँ पनि सहँदिनँ। न मलाई जातभातको भेदभाव थियो, न अहिले छ। हामी त विशुद्ध चलचित्रकर्मी। त्यसपछि मेरो उनीसँग ‘लफडा’ परेको थियो।
त्यो घटनापछि विपना र मेरो बोलचाल आजसम्म पनि छैन। अरुसँग चाहिँ खासै त्यस्तो केही घटना छैन। सायद यो घटना करिब २५-३० वर्षअघि भएको हो।
कोरस डान्सर नाच्दानाच्दै भकाभक लडे पछि...
हामीले चित्कार भन्ने फिल्मको सुटिङ गर्दा अनौठो घटना भयो। दुई दिनसम्म सुटिङ रोक्नु पर्यो।। एक्सन भन्ने बितिक्कै केटीहरू भकाभक ढल्ने। कोही पनि नाच्न नसक्ने अवस्था भयो। खुट्टा उचाल्नेबित्तिकै ढल्ने। पछि दुई दिन पूजा गरेर सुटिङ गर्दा मात्र ठिक भयो।
मान्छेहरू भुत हुँदैन भन्छन्, तर मलाई चाहिँ त्यस्तो कुरा ठ्याक्कै विश्वास लाग्छ। अहिले त मान्छे नै भुतजस्ता भइसके। तर त्यो बेला साँच्चै भुत-प्रेतजस्ता घटना हुन्थे।
कात्तिक २७, २०८२ बिहीबार १६:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।