शेख हसिनालाई मृत्युदण्ड कि सफाइ? फैसलाको मिति घोषणा, बंगलादेशमा ‘हाइ अलर्ट’

शेख हसिनालाई मृत्युदण्ड कि सफाइ? फैसलाको मिति घोषणा, बंगलादेशमा ‘हाइ अलर्ट’

ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध दर्ता भएको मानवता विरुद्धको अपराध मुद्दामा फैसला सुनाउने मिति घोषणा गरिएको छ। ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आउँदो नोभेम्बर १७, सोमबारका दिन आफ्नो फैसला सुनाउनेछ।

फैसलाको मिति तोकिनुअघि आज न्यायाधिकरण वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो। सरकारी वकिलले हसिनाविरुद्ध हत्या, अपराध रोक्न असफल भएको र मानवता विरुद्धको अपराध जस्ता पाँचवटा गम्भीर आरोप लगाएका छन्।

सरकारी वकिलले हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेका छन्। यो घटनालाई लिएर बढ्दो तनावका बीच हसिनाको पार्टी अवामी लिगले बिहीबार बिहानदेखि साँझसम्म देशव्यापी हड्तालको घोषणा गरेको छ।

यो मुद्दालाई लिएर देशमा तनाव बढेपछि बंगलादेशलाई उच्च सतर्कतामा राखिएको छ। देशभरका विमानस्थलहरू र महत्त्वपूर्ण सरकारी भवनहरूमा प्रहरी र सेनाको तैनाथी बढाइएको छ। अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले केही समयपछि राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो घटनाको सुरुवात ५ अगस्ट २०२४ मा भएको थियो, जब बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ भयो। सरकार ढल्नुअघि र पछि देशभर ठूला प्रदर्शन, आगजनी र हिंसाका घटना भएका थिए।

त्यतिबेलाको सरकारमाथि आन्दोलन गरिरहेका विद्यार्थीहरूलाई पक्राउ गरी यातना दिएको र गोली चलाएको गम्भीर आरोप लागेको थियो। हिंसा बढ्दै गएपछि शेख हसिना देश छोडेर भारतमा शरण लिन पुगिन्।

त्यसपछि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनीविरुद्ध मुद्दा दायर गर्यो। अदालतले उनलाई देश फर्केर मुद्दाको सामना गर्न आदेश दिए पनि उनले त्यो आदेश मानिनन्।

न्यायाधिकरणका सरकारी वकिल गाजी मुनव्वर हुसैन तमिमले आज (नोभेम्बर १३) फैसलाको मिति मात्र तोकिएको र अन्तिम फैसला आउन करिब एक हप्ता लाग्न सक्ने बताएका छन्।

कात्तिक २७, २०८२ बिहीबार १२:४६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।