गणितलाई बहसको विषय बनाउँदै नेपालमा ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु

गणितलाई बहसको विषय बनाउँदै नेपालमा ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु

काठमाडौं : गणितलाई परम्परागत हिसाब-किताब र सूत्रबाट बाहिर निकालेर तर्क, संवाद र रचनात्मक सोचको माध्यम बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु भएको छ।

शैक्षिक संस्था ‘एम्बार्क अनम्याथ’ले आयोजना गरेको यो कार्यक्रमले गणितलाई विचार र संवादको भाषाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

यो राष्ट्रिय प्रतियोगिता तीन चरणमा आयोजना हुनेछ, जसमा देशभरका ५,००० भन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।

लिगले विद्यार्थीहरूलाई गणितीय अवधारणाहरूमाथि बहस गर्न, आफ्नो विचार प्रस्तुत गर्न र समस्या समाधानका लागि रचनात्मक तरिका अपनाउन प्रेरित गर्नेछ।

एम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजाले भने, ‘गणित भनेको केवल हिसाब-किताब होइन, तर तार्किक सोच र समस्या समाधानको रोमाञ्चक यात्रा हो। यो लिगले विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठाभन्दा बाहिरको सोच र अनुभव दिनेछ।’

यस कार्यक्रमले विद्यार्थीमा विश्लेषणात्मक क्षमता, सहकार्य र सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास विकास गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

कात्तिक २७, २०८२ बिहीबार ११:५६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।