टिकटकमा अब अभिभावकले छोराछोरीको स्क्रिन-टाइम र गोपनीयता नियन्त्रण गर्न सक्ने

टिकटकमा अब अभिभावकले छोराछोरीको स्क्रिन-टाइम र गोपनीयता नियन्त्रण गर्न सक्ने

काठमाडौं : लोकप्रिय भिडियो सेयरिङ एप टिकटकले किशोर-किशोरीको सुरक्षित प्रयोग सुनिश्चित गर्न र स्वस्थ डिजिटल बानी प्रवर्द्धन गर्न अभिभावकका लागि नयाँ सेफ्टी टुल्स (सुरक्षा उपकरण) हरू सार्वजनिक गरेको छ।

‘फ्यामिली पेयरिङ’ नामक फिचरमार्फत अभिभावकले आफ्ना छोराछोरीको खातामा विभिन्न नियन्त्रणहरू लागू गर्न सक्नेछन्।

यो फिचरमार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि दैनिक स्क्रिन-टाइम लिमिट तोक्न, ब्रेकको समय तालिका बनाउन, र डाइरेक्ट मेसेज (डीएम) पठाउन मिल्ने वा नमिल्ने जस्ता सेटिङ मिलाउन सक्छन्।

यसका साथै, भिडियोमा आउने कमेन्ट, खाता खोज्न मिल्ने वा नमिल्ने र भिडियो डाउनलोड गर्ने अनुमतिजस्ता गोपनीयतासम्बन्धी सेटिङहरू पनि अभिभावकले नियन्त्रण गर्न सक्नेछन्।

टिकटकका अनुसार यी उपकरणहरू केवल अभिभावकीय नियन्त्रणका लागि मात्र नभई, किशोर-किशोरी र परिवारबीच डिजिटल बानीबारे खुला संवाद सुरु गर्ने माध्यम पनि हुन्।

टिकटकले उमेरअनुसार सुरक्षा मापदण्डलाई थप कडाइ गरेको छ। अब १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खातामा डाइरेक्ट मेसेजिङ स्वतः बन्द हुनेछ भने रात्रिकालीन पुश नोटिफिकेसनहरू पनि आउने छैनन्।

त्यसैगरी, १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि डिफल्ट रूपमा ६० मिनेटको दैनिक स्क्रिन-टाइम लिमिट सेट गरिएको छ।

तोकिएको समय सकिएपछि एप चलाउन जारी राख्नका लागि पासकोड आवश्यक पर्नेछ। टिकटकले उमेरअनुसार अनुपयुक्त मानिएका सामग्रीहरूलाई फिल्टर गरी हटाउने प्रविधि पनि प्रयोगमा ल्याएको जनाएको छ।

प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै टिकटकले ‘गाइडेड मेडिटेसन’ नामक नयाँ सुविधा पनि ल्याएको छ। यो सुविधाले प्रयोगकर्तालाई माइन्डफुलनेस (ध्यान) अभ्यास गर्न र राम्रो निद्राका लागि सहयोग गर्ने लक्ष्य राखेको छ।

१८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ र राति १० बजेपछि ‘फर यू’ फिडको सट्टामा मेडिटेसनको सुझाव देखिन्छ। वयस्क प्रयोगकर्ताले भने स्क्रिन-टाइम सेटिङमार्फत यो विकल्प रोज्न सक्नेछन्।

यी नयाँ सुधारहरू टिकटकको पहिलेदेखि नै रहेको सुरक्षा संरचनामा थपिएका हुन्, जसमा किशोरहरूको सुरक्षाका लागि ५० भन्दा बढी उपायहरू समावेश छन्। टिकटकले सुरक्षित वातावरणमा नयाँ पुस्तालाई सिर्जनशील हुन र अर्थपूर्ण रूपमा जोडिन सहयोग गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ।

कात्तिक २७, २०८२ बिहीबार ११:५१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।