सुनको मूल्यमा ऐतिहासिक उछाल : एकैदिन तोलामा ५९ सयले बढ्यो, साढे दुई लाख नाघ्यो भाउ
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्यले ऐतिहासिक छलाङ मारेको छ।
एकैदिन प्रतितोला ५ हजार ९०० रुपैयाँले मूल्य बढेपछि सुनको भाउ पुनः साढे दुई लाख नाघेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धिको प्रत्यक्ष असर घरेलु बजारमा परेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।
यो अघिल्लो दिन बुधबारको तुलनामा ५ हजार ९०० रुपैयाँले बढी हो। बुधबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यो वृद्धि पछिल्लो समयकै सबैभन्दा ठूलो एकदिने उछाल हो। यसअघि असोज ३१ गते सुनको मूल्यले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको ऐतिहासिक कीर्तिमान बनाएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेको छ।
महासंघका अनुसार, आज चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य ३ हजार १७५ रुपैयाँ थियो।
चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च कीर्तिमानको नजिक हो। यसअघि असोज ३१ गते चाँदीले प्रतितोला ३ हजार ३५० रुपैयाँको कीर्तिमान बनाएको थियो।
महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४२०० डलर नाघेपछि त्यसको असर नेपाली बजारमा परेको हो।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावले नै नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ। यो ऐतिहासिक मूल्यवृद्धिले बजारमा तत्कालका लागि खरिदबिक्रीमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
कात्तिक २७, २०८२ बिहीबार ११:३७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।