चितवनको जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तस्बिर : विद्यालयको वेबसाइटबाट

चितवन : भरतपुर महानगरपालिका-२३, जगतपुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। रत्ननगर नगरपालिका-६, बछौलीका ३३ वर्षीय सुरेश महतोको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान करिब १०:१५ बजेको समयमा ७ नम्बर चोकबाट कसरा चोकतर्फ जाँदै गरेको लक्ष्मी माध्यमिक विद्यालयको बा.प्र.३-००१ ग ००२९ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक महतोलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो। तर, अस्पताल पुर्याउने क्रममा १०:५० बजेको समयमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।\

दुर्घटनास्थल ईलाका प्रहरी कार्यालय, गीतानगरबाट करिब ४ किलोमिटर पूर्वमा पर्दछ। दुर्घटनामा संलग्न दुवै सवारी साधन र स्कुल बसका चालक, चितवनकै भरतपुर महानगरपालिका-२३ बस्ने वर्ष ४३ का सुख बहादुर दर्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

कात्तिक २७, २०८२ बिहीबार १०:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।