१४ सय जनाको हत्या आरोपी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड कि सफाइ, आज फैसला हुँदै

१४ सय जनाको हत्या आरोपी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड कि सफाइ, आज फैसला हुँदै

ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा दायर गरिएको मुद्दामाथि आज ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा सुनुवाइ हुँदैछ।

सरकारी वकिलले हसिनामाथि हत्या र मानवता विरुद्धको अपराधसहित पाँच गम्भीर आरोप लगाउँदै उनका लागि मृत्युदण्डको माग गरेका छन्।

यो मुद्दालाई लिएर बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ। देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने विमानस्थल र महत्त्वपूर्ण सरकारी भवनहरूमा प्रहरी तथा सेनाको बाक्लो उपस्थिति छ।

यसैबीच, हसिनाको पार्टी अवामी लिगले आज देशव्यापी बन्दको आह्वान गरेको छ, जसले जनजीवन प्रभावित हुनसक्ने देखिएको छ।

गत ५ अगस्ट २०२४ मा बंगलादेशमा भएको विशाल जनप्रदर्शनपछि शेख हसिनाको सरकार ढलेको थियो। सरकारी जागिरमा रहेको आरक्षण प्रणाली (कोटा सिस्टम) विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले पछि राष्ट्रव्यापी रूप लिएको थियो।

प्रदर्शनकारी विद्यार्थीहरूमाथि दमन, यातना र गोली चलाएको आरोप लागेपछि हिंसा भड्किएको थियो।

स्थिति नियन्त्रण बाहिर गएपछि ७७ वर्षीया हसिना देश छाडेर भारतमा शरण लिन पुगेकी थिइन् र त्यसबेलादेखि उनी त्यहीँ छिन्। उनको २० वर्षे शासनको अन्त्यपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

हसिना देश छाडेपछि न्यायाधिकरणले उनीविरुद्ध मुद्दा दर्ता गर्दै देश फर्केर सामना गर्न आदेश दिएको थियो। उनले आदेश नमानेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

यद्यपि, न्यायाधिकरणका सरकारी वकिल गाजी मुनव्वर हुसैन तमीमले आज फैसला नहुने, तर फैसला सुनाउने मिति मात्र तोकिने स्पष्ट पारेका छन्। सामान्यतया फैसला घोषणा हुन करिब एक हप्ता लाग्ने उनले बताए।

उता, भारतमा शरण परेकी शेख हसिनाले आफूमाथि लागेका सबै आरोपहरूलाई ‘राजनीतिक षड्यन्त्र’ भनेकी छन्। उनले न्यायाधिकरण निष्पक्ष नभएको र आफूलाई फसाउन झुटो मुद्दा लगाइएको दाबी गरेकी छन्।

बंगलादेशको वर्तमान अन्तरिम सरकारले हसिनाविरुद्ध हत्या, अपहरण र देशद्रोहसहित २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ र उनको राहदानी पनि रद्द गरिसकेको छ।

बंगलादेशले भारतसमक्ष हसिनालाई सुपुर्दगी गर्न आग्रह गरे पनि भारत सरकारले उनको भिसा अवधि बढाएर उनलाई फिर्ता नपठाउने संकेत दिएको छ।

कात्तिक २७, २०८२ बिहीबार ०७:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।