झिँगे दाउ-२’बाट मुकुन निकालिए
काठमाडौं : दुई महिनाअघि फिल्म ‘झिँगे दाउ’को सिक्वेलमा पुरानै कलाकार दोहोरिने चर्चा थियो। फिल्मका निर्देशक तथा निर्माता समेत रहेको ज्ञानेन्द्र देउजाले पुरानै कलाकार दोहोरिने भन्दै अभिनेता मुकुन भुसालसँग कागजी सम्झौता गरेका थिए।
अहिले एक्कासि उनीहरुबीच मनमुटाब बढेको छ। बुधवार नै उनीहरुबीच भनाभन भएको थियो। सोही झड्कामा निर्देशक देउजाले मुकुनलाई निकालेर महेश त्रिपाठीलाई फिल्मका लागि अनुबन्ध गरेका छन्।
उकेरासँगको कुराकानीमा निर्देशक देउजाले भने,‘मुकुनले समय दिन नसक्ने भएपछि मैले निकालेको हो। उनको ठाउँमा मैले महेश त्रिपाठीलाई कुरा गरेको छु।’
ज्ञानेन्द्र देउजा आगामी १५ गतेबाट फिल्म ‘झिँगे दाउ २’को छायाङ्कन थाल्ने तयारीमा छन्। उनले मुकुनलाई तयारी रहन आग्रह गर्दा आफूले समय दिन नभ्याउने जवाफ फर्काएका थिए। सोही रन्कामा परेका निर्देशक देउजाले मुकुनलाई निकालेका हुन्।
यता मुकुनले यसबारेमा आफू नबोल्ने बताए। उनले आफ्नो समय नभएका कारण आफू बाहिरिएको जानकारी दिए। अन्य कुराकानी उनले गर्न चाहेनन्।
यस फिल्ममा अब मुकुनको ठाउँमा महेश त्रिपाठी रहने छन्। महेशका साथमा अब यो फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, संगम भण्डारी, हिउँवाला गौतम लगायतका कलाकारहरू रहेका छन्। अभिनेता महेश पछिल्लो समय चर्चाका कलाकार हुन्। उनले अभिनय गरेको फिल्म ‘परान’हलमा प्रदर्शन भइरहेको छ। मुकुन फिल्म ‘बुलबुल’बाट चर्चामा आएका थिए।
कात्तिक २६, २०८२ बुधबार २१:०६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।