चीनमा एप स्टोरबाट हटाइयो दुई चर्चित गे डेटिङ एप
एजेन्सी : एप्पलले चीनमा रहेका आफ्ना एप स्टोरबाट दुईवटा चर्चित गे (समलिंगी) डेटिङ एपहरू ‘ब्लुड’ र ‘फिन्का’ हटाएको छ। कम्पनीले चिनियाँ सरकारी निकायको आदेशपछि यो कदम चालेको पुष्टि गरेको छ।
एप्पलका एक प्रवक्ताले भने, ‘हामी जुन देशमा काम गर्छौं, त्यहाँको कानुनको पालना गर्छौं। चीनको साइबरस्पेस प्रशासनको आदेश अनुसार, हामीले यी दुई एपहरू केवल चिनियाँ एप स्टोरबाट हटाएका हौँ।’
यो कदमले चीनको समलिंगी, द्विलिंगी, र पारलिंगी समुदायमा चिन्ता बढाएको छ।
‘ब्लुड’ एपको ‘लाइट’ भर्सन भने अझै पनि चिनियाँ एप स्टोरहरूमा उपलब्ध छ। त्यस्तै, ‘जिक्को’ र ‘ज्याक्ड’ जस्ता केही अन्य गे डेटिङ एपहरू पनि चीनमा चलिरहेका छन्।
चीनमा एप्पलले त्यहाँको कडा इन्टरनेट कानुन अनुसार छुट्टै एप स्टोर सञ्चालन गर्दछ, जहाँ इन्स्टाग्राम र ह्वाट्सएपजस्ता लोकप्रिय एपहरू पनि उपलब्ध छैनन्।
सन् २०२२ मा पनि चर्चित अमेरिकी गे डेटिङ एप ‘ग्राइन्डर’लाई चिनियाँ एप स्टोरबाट हटाइएको थियो। चीन सरकारले इन्टरनेटमा अवैध र अनुपयुक्त सामग्रीमाथि कारबाही गर्ने अभियान चलाउँदै आएको छ।
चीनमा समलैंगिकतालाई सन् १९९७ मा अपराधको श्रेणीबाट हटाइएको थियो, तर समलिंगी विवाहले अझै पनि कानुनी मान्यता पाएको छैन। पछिल्ला वर्षहरूमा बेइजिङ एलजीबीटी सेन्टरजस्ता अधिकारवादी समूहहरू पनि बन्द भएका छन्।
कात्तिक २६, २०८२ बुधबार १०:५९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।