धादिङमा स्कुटर भित्तामा ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते

धादिङमा स्कुटर भित्तामा ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते

धादिङ : धादिङको थाक्रे गाउँपालिकामा बुधबार दिउँसो स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार, थाक्रे गाउँपालिका-३, अमर्खुको भित्री सडकखण्डमा महादेवबेंसीतर्फ जाँदै गरेको लु ६ प ९०३४ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा स्कुटर चालक थाक्रे-२, लामागाउँकी ५५ वर्षीया इन्दिरा अर्यालको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको धुनिबेशी-६, धार्केस्थित साईबाबा सामुदायिक अस्पतालमा उपचारका क्रममा दिउँसो १२:४६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरको पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया मन्जु खड्का अर्याल गम्भीर घाइते भएकी छन्। उनको टाउको र दाहिने खुट्टामा चोट लागेको छ र थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ। दुर्घटनाग्रस्त स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ।

कात्तिक २६, २०८२ बुधबार १०:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।