शृंखलाबद्ध बम विस्फोट र आगजनीपछि ढाकामा ‘हाइ अलर्ट’

शृंखलाबद्ध बम विस्फोट र आगजनीपछि ढाकामा ‘हाइ अलर्ट’

एजेन्सी : बंगलादेशको राजधानी ढाकामा मंगलबार सार्वजनिक यातायात, सरकारी सल्लाहकारसँग सम्बन्धित संस्थाहरू र धार्मिक स्थलहरूलाई लक्षित गरी शृंखलाबद्ध रूपमा बम विस्फोट र आगजनीका घटनापछि ‘हाइ अलर्ट’ जारी गरिएको छ।

दिनभरमा ११ स्थानमा कच्चा बम विस्फोट भएको थियो भने तीनवटा बसमा आगजनी गरिएको थियो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

यी आक्रमणहरू अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पदच्युत प्रधानमन्त्री शेख हसिना विरुद्धको मुद्दामा फैसला सुनाउने मिति तय गर्ने दिनको ठीक अघि भएका हुन्।

घटनापछि प्रहरीले शहरभरि गस्ती बढाएको छ र आक्रमणकारीहरूलाई पक्रन विशेष खोजी अभियान चलाएको छ। प्रहरीले प्रमुख सरकारी प्रतिष्ठान वरपर कुनै पनि प्रकारको सार्वजनिक भेला हुन प्रतिबन्ध लगाएको छ।

मुख्य सल्लाहकार मोहम्मद युनुसको कार्यालयले जारी गरेको विज्ञप्तिमा धार्मिक सद्भाव बिथोल्न खोज्ने कुनै पनि प्रयासलाई कडा रूपमा सामना गरिने चेतावनी दिइएको छ। प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा केही अवामी लिगका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।

आक्रमणको शृंखला मंगलबार बिहानैदेखि शुरू भएर रातिसम्म चलेको थियो। मुख्य सल्लाहकार प्राध्यापक मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकको मुख्यालय अगाडि बम विस्फोट गराइएको थियो।

त्यस्तै, मत्स्य तथा पशुधन सल्लाहकार फरिदा अख्तरको व्यापारिक प्रतिष्ठान र नेशनल सिटिजन पार्टीको कार्यालयलाई पनि निशाना बनाइएको थियो। यसअघि शुक्रबार पनि केही चर्च र विद्यालयमा कच्चा बम प्रहार गरिएको थियो।

राजधानी ढाकाबाहेक देशभरका प्रमुख प्रतिष्ठान र धार्मिक स्थलहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। रेलमार्ग र अन्य संवेदनशील क्षेत्रमा सम्भावित आक्रमण रोक्न उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

सरकारले देशमा अस्थिरता फैलाउने कुनै पनि प्रयासलाई दृढतापूर्वक सामना गर्ने र सार्वजनिक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

कात्तिक २६, २०८२ बुधबार ०९:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।