धर्मेन्द्रको स्वास्थ्यमा सुधार, मृत्युको खबरबारे हेमा मालिनीले भनिन्- जे भइरहेको छ त्यो अक्षम्य छ
काठमाडौं : भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नोभेम्बर १० मा अस्पताल भर्ना गरिएको थियो।
सुरुमा भेन्टिलेटरमा राखिए पनि हाल उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र उनी चाँडै निको भइरहेका छन्। अभिनेता सनी देओलको टोलीले मङ्गलबार धर्मेन्द्रको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको थियो।
यसैबीच, नोभेम्बर ११ मा उनको निधन भएको भ्रामक खबर फैलिएपछि उनको परिवारले आपत्ति जनाएको छ। छोरी ईशा देओल र पत्नी हेमा मालिनीले सामाजिक सञ्जालमार्फत यस्तो निराधार खबरप्रति कडा आक्रोश व्यक्त गरेका थिए।
ईशाले लेखेकी थिइन्, ‘मिडियाले गलत खबर फैलाइरहेको छ। बुबाको अवस्था स्थिर छ र उहाँ निको हुँदै हुनुहुन्छ। कृपया हाम्रो परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला।’
त्यस्तै, हेमा मालिनीले पनि यस्ता खबरहरूलाई ‘गैर-जिम्मेवार र अपमानजनक’ भन्दै भर्त्सना गरेकी थिइन्। यो अफवाहका कारण रक्षामन्त्री राजनाथ सिंह र गीतकार जावेद अख्तरजस्ता व्यक्तित्वहरूले पनि सुरुमा सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका थिए, यद्यपि पछि उनीहरूले आफ्नो पोस्ट हटाए।
धर्मेन्द्रको स्वास्थ्य अवस्था बुझ्न उनका छोराहरू सनी र बबी देओल, पत्नी हेमा मालिनी, छोरी ईशा देओलका साथै शाहरुख खान, सलमान खान र आमिर खानजस्ता ठूला कलाकारहरू अस्पताल पुगेका थिए।
८८ वर्षीय धर्मेन्द्र हालै ‘रकी और रानीकी प्रेम कहानी’ र ‘तेरी बातों में ऐसा उलझा जिया’ जस्ता फिल्ममा देखिएका थिए। उनको आगामी फिल्म ‘इक्कीस’ रिलिजको तयारीमा छ।
कात्तिक २६, २०८२ बुधबार ०७:५६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।